काठमाडौं :
नेपालीहरुको दोस्रो महान चार्ड तिहारमा त्रिपक्षीय नेपाली फिल्मको भिडन्त हुने भएको छ ।आगामी कात्तिक १५ लक्ष्मीपूजामा तीन वटा नेपाली फिल्म प्रदर्शनमा आउने भएपछि त्रिपक्षीय भिडन्त हुन लागेको हो।
शुक्रबार फिल्म ‘पुर्ण बहादुरको सारांगी’ले आफ्नो प्रदर्शन मिति तोकेकोले यो अवस्था आएको हो। यसअघि दुई फिल्म ‘एक्टर’ र ‘मायावी’ले प्रदर्शन मिति घोषणा गरिसकेका थिए। तीन फिल्मका कलाकारहरु बलिया देखिएका छन्। फिल्म ‘एक्टर’मा अभिनेता प्रदीप खड्काको चाम रहेको छ भने ‘मायावी’मा पल शाह रहेका छन्। उनीहरुले यस अघि ‘पूजार सार्की’मासँगै अभिनय गरेका थिए। जुन सफल फिल्म बनेको थियो। अब यहि फिल्मका कलाकार एकअर्कामा भिड्ने भएका छन्।
शुक्रबार फिल्म ‘पुर्ण बहादुरको सारांगी’को
फर्स्टलुक पोस्टर पनि सार्वजनिक भएको छ। जहाँ फिल्मका मुख्य कलाकारद्वय विजय बराल र प्रकाश सपूत चित्रित छन्। विजय फुलेको दाह्री र कपालमा खुसी भावमा देखिएका छन् भने प्रकाश फूलको माला लगाएर हातमा मार्कसिट लिएर खुसी हुँदै दौडिरहेका छन्। यसको भित्रि कथा भने फिल्मको टिजर र ट्रेलर आएपछि मात्रै थाहा होला। तर अनुमान गर्दा यसले उनी कक्षामा पहिलो भएको हो की भन्न सकिन्छ। यस अघि प्रकाश सपुतले फिल्म ‘परदेशी २’मा अभिनय गरेका थिए। जुन फिल्म व्यवसायिक रुपमा ठिकठिकै भएको थियो। उनको यो दोस्रो फिल्म हो।
यस फिल्ममा सरोज पौडेलको कथा तथा निर्देशन रहेको छ भने कलाकारमा विजय र प्रकाशसँगै मुकुन भुसाल, अञ्जना बराइली, माओत्से गुरुङ, भोलाराज सापकोटा, देशभक्त खनाल, बुद्धि तामाङ, विनोद न्यौपाने,अलिसा बास्तोला, जानवी पौडेल, श्याम केसी लगायत रहेका छन्।
फिल्ममा लगानी विनोद पौडेल र प्रतीक सुवेदी निर्माता तथा कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन्। महेश दवाडीको पटकथा तथा संवाद रहेको फिल्ममा सारङ्गी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व परिवारको कथालाई उठाएको निर्माण पक्षको भनाई छ । यसमा शिवराम श्रेष्ठ छायांकन, प्रशान्त सिवाकोटीको संगीत, सुरेन्द्र पौडेलको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड स्कोर रहेको छ।
त्यस कारण यि तीन फिल्म भिड्दा कसले व्यवसायिक रुपमा सफलता हात पार्लान् त्यो भने हेर्न बाँकी छ।