सुचना, समाचार र मनोरन्जन

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे को अत्याधुनिक कार्यालय स्वयम्भुमा उद्घाटन

काठमाडौं/

स्वयम्भु — लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले काठमाडौंको स्वयम्भु सानो भर्‍याङमा अत्याधुनिक सुविधासम्पन्न नयाँ कार्यालय सञ्चालनमा ल्याएको छ। डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले एक विशेष कार्यक्रमको बीच कार्यालयको उद्घाटन गरिन्।

उद्घाटन समारोहमा बोल्दै लायन थापाले कार्यालय स्थापना गर्ने सम्पूर्ण मनकारी लायन लिडरहरूलाई धन्यवाद दिइन्। उनले सिनियर लायन लिडर र जोन रिजनका प्रतिनिधिहरूलाई बैठक गर्न स्थानको समस्या भएमा नयाँ कार्यालय प्रयोग गर्न आग्रह गरिन्। साथै, मल्टिपल डिष्ट्रिक्टको भवन निर्माण सम्पन्न भएपछि कार्यालय उतै सार्ने योजना रहेको जानकारी दिइन्।

लायन्स डिष्ट्रिक्ट ३२५ जे को कार्यक्षेत्रमा काठमाडौं सहित नुवाकोट, गोर्खा, कास्की, बागलुङ लगायतका क्षेत्रहरू पर्दछन्। यसअघि उपयुक्त कार्यालय अभावमा कार्य सम्पादनमा समस्या भइरहेको थियो, जसलाई यो नयाँ कार्यालयले समाधान गर्ने विश्वास गरिएको छ।

उक्त कार्यालयमा सिसि क्यामरा, एयरकन्डिसन सहित डिष्ट्रिक्ट गभर्नर, भाईस डिष्ट्रिक्ट गभर्नर, सेक्रेटरी, र ट्रेजररका लागि अलग-अलग कोठाहरू रहेका छन्। २५ जना सम्म सहजै अट्ने बैठक कक्ष, रिसेप्सन कक्ष, र स्टोरको व्यवस्था समेत गरिएको छ।

उद्घाटन कार्यक्रममा पाष्ट डिष्ट्रिक्ट गभर्नर तथा मल्टिपल कन्भेन्सन चियरपर्सन लायन ध्रुब बहादुर थापा, आईपिडीजी लायन हरिप्रसाद मरहट्टा, फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्ल, सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बाँस्तोला, क्याबिनेट कोषाध्यक्ष लायन कल्पना थापा, चिफ एडभाईजर लायन कुश प्रसाद मल्ली लगायतका अन्य सिनियर लायन्स लिडरहरूको उपस्थिति रहेको थियो।

लायन्स इन्टरनेसनलका पिआरओ चिफ लायन रामराजा थापाले यस नयाँ कार्यालय ३२५ जे लाई नेपालभरका १५ वटा डिष्ट्रिक्ट मध्ये सबैभन्दा राम्रो र सुविधासम्पन्न कार्यालयको रुपमा स्थापित गर्ने दाबी गरे।

यो कार्यालयले लायन्स इन्टरनेसनलको सेवामा थप प्रभावकारिता ल्याउने विश्वास गरिएको छ, जसले लायन्सको समुदायमा अझ सशक्त उपस्थिती सुनिश्चित गर्नेछ।

Leave A Reply

Your email address will not be published.