काठमाडौँ/
नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले समावेशितामा सम्झौता नहुने गरी संविधान संशोधन हुने बताएका छन् । बुधबार बीपी चिन्तन प्रतिष्ठानले जनकपुरधाममा आयोजना गरेको नेपालमा कृषि क्रान्ति सम्भावना र चुनौती विषयका गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सांसद महतले कांग्रेस—एमालेबिच भएको सम्झौताका सात बुँदामा एउटा संविधान संशोधन पनि रहेको उल्लेख गर्दै समावेशितालाई कमजोर गर्नेगरी संविधान संशोधन नहुने प्रतिबद्धता जनाए । उनले नेकपा (माओवादी केन्द्र) ले जनताको अधिकार खोस्नलाई संविधान संशोधनको कुरा गरेको भनेर भ्रम सिर्जना गरिरहेको बताए । उनले क्षेत्र आरक्षण गरेर प्रत्यक्ष निर्वाचनमार्फतबाट पनि समावेशिता ल्याउन सकिने बताए ।
उनले भने, ‘एउटा मुद्दा सात बुँदे सहमतिमा संविधानको संशोधनको कुरा पनि उल्लेख गरेका छौँ । कतिपयले, खासगरी माओवादीले यसलाई जनताको अधिकार खोस्नलाई संविधान संशोधनको कुरा गरिरहेका छौ, समावेशितालाई कमजोर गर्न गरिरहेका छौ भनेर गलत भाष्य, जनतामा भ्रम फैल्याउने कोसिस भएको छ । यो कदापि होइन । समावेशितामा कुनै कम्प्रमाइज हुँदैन । कुनै सम्झौता हुँदैन ।’
पूर्वअर्थमन्त्री समेत रहेका सांसद महतले अहिलेको सरकारले देश र जनताप्रति केन्द्रित भएर काम गर्न आवश्यक रहेको बताए । उनले नेपालमा कृषिमा निर्भर जनसङ्ख्याको आय न्यून हुनु चिन्ताको विषय रहेको बताए ।