सुचना, समाचार र मनोरन्जन

वाराहीघाटमा तीज विशेष महोत्सव भव्य रूपमा सुरु

पोखरा :

वाराहीघाटमा आजदेखि तीज विशेष महोत्सव  सुरु भएको छ। महोत्सव भोलीसम्म चल्ने छ। पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)द्वारा आयोजित यस महोत्सवको उद्घाटन पर्यटन मन्त्री माननीय मित्रलाल बस्यालले गर्नुभयो।

कार्यक्रममा प्रदेश सांसद माननीय सरस्वती गुरुङ, प्रकाश बराल, डीआईजी दुर्गा सिंह, र पोखराका अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। पोखरा पर्यटन परिषद् पनि कार्यक्रममा सहभागी थियो, जसले महोत्सवलाई अझ महत्त्वपूर्ण बनायो। कार्यक्रम कमला गिरीको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको हो भने, कार्यक्रमको सञ्चालन महासचिव अनिता खड्का भट्टराईले गरिरहनुभएको थियो। संयोजक शान्ता तिमिल्सिनाले महोत्सवलाई “महिला सशक्तिकरणको उत्कृष्ट आवाज”भन्दै, यसले महिलाहरूको अधिकार र उनीहरूको सामाजिक भूमिकालाई सशक्त बनाउने बताउनुभयो। महोत्सवको पहिलो दिन सांस्कृतिक झाँकी र तीज गीत प्रतियोगिता ले कार्यक्रमलाई थप उल्लासपूर्ण बनायो।

महिलाहरूले प्रस्तुत गरेका झाँकी, नृत्य, र तीज गीतहरूले उपस्थित दर्शकहरूलाई मोहित मात्र गरेन, कार्यक्रमलाई जीवन्त र ऊर्जा थप्यो।कार्यक्रमको थप आकर्षण  भारतीय सांस्कृतिक कार्यक्रम रहेको थियो, जसले उपस्थित सबैलाई मन्त्रमुग्ध बनायो। कलाकारहरूको उत्साहपूर्ण प्रस्तुतीले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्दै महोत्सवलाई जीवन्त बनायो।

यस महोत्सवले पोखराको पर्यटन प्रवर्द्धन मात्र नभई, महिला सशक्तिकरण को अभियानलाई पनि सशक्त बनाएको छ। पोखरामा आयोजना भएका यस्ता महोत्सवहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

Click: Santosh Khanal | Parichay

Leave A Reply

Your email address will not be published.