सुचना, समाचार र मनोरन्जन

प्रेस स्वतन्त्रताको वकालत गर्ने विमला भण्डारी गण्डकी प्रदेशको पहिलो महिला प्रेस रजिष्ट्रार

गण्डकी/

गण्डकी प्रदेशमा प्रेस स्वतन्त्रताको पक्षमा दुई दशकदेखि क्रियाशील हुँदै आएकी अग्रणी महिला पत्रकार बिमला भण्डारी गण्डकी प्रदेशको एघारौँ तहको  प्रेस रजिष्ट्रारमा नियुक्त भएकी छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई यस महत्वपूर्ण पदमा नियुक्त गरेको सामाजिक विकास मन्त्री बिन्दु कुमार थापाले जानकारी दिएका छन्।

बिमला भण्डारी, जो नेपाल पत्रकार महासंघ कास्कीकी प्रथम महिला अध्यक्ष पनि हुन्, पत्रकारिता क्षेत्रमा आफ्नो सशक्त आवाज र दृढ नेतृत्वका लागि चिनिएकी छन्। प्रेस स्वतन्त्रता र महिला सशक्तिकरणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै, उनले महिला पत्रकारहरूलाई हौसला दिनेदेखि समाजको वास्तविकतामा आधारित निष्पक्ष पत्रकारिताको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएकी छिन्।

रजिष्ट्रारका लागि पाँच जनाको आवेदन परेकोमा सर्टलिस्टमा परेका तीनजनाबाट भण्डारीको चयन गरिएको हो। यो नियुक्तिले पत्रकारिताबाट आएका महिला नेतृहरूको योगदानलाई थप मान्यता दिएको छ। भण्डारीले पत्रकारिताबाट प्रेस स्वतन्त्रता र समाजको सचेतना वृद्धि गर्दै महिला नेतृत्वलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।

उनको नियुक्तिले प्रेस स्वतन्त्रता, नीतिगत सुधार र पत्रकारहरूको हकहितका लागि बलियो कदम चालिने विश्वास लिइएको छ। गण्डकी प्रदेशका सञ्चार माध्यमहरूको सुदृढीकरण र लोकतान्त्रिक मूल्यमान्यताहरूप्रति प्रतिबद्धता झल्काउने यस नियुक्तिले महिला नेतृत्वको क्षेत्रमा पनि एक ऐतिहासिक माइलस्टोन राखेको छ।

Leave A Reply

Your email address will not be published.