काठमाडौं :
यहि असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को दोस्रो गीत सार्वजनिक भएको छ। ‘बिहे भाको छैन म’पछि निर्माण टिमले ‘ब्रेकअप’गीत सार्वजनिक गरेको हो। बाबुल गिरीको शब्द,संगीत र स्वरमा रहेको यो गीतमा फिल्मका मुख्य कलाकारले नाचेका छन्।
फिल्मका कलाकारहरू दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, वर्षा सिवाकोटी,मेक्सम गौडेल, सुरवीर पण्डित लगायतलाई गीतको भिडियोमा प्रस्तुत गरिएको छ। गीतमा ब्रेकअपपछि प्रेमीले प्रेमिकाप्रति पोखेको आक्रोशलाई कमेडी शैलीमा दीपाश्री र केदार घिमिरे लगायतलाई देख्न सकिन्छ।
दीपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्ममा कार्यकारी निर्माता निर्मल शर्मा,केदार घिमिरे रहेका छन्। उनीहरुको स्वयम अभिनय रहेको यो फिल्ममा आर्यन सिग्देल,तेज गिरीलाई पनि देख्न सकिन्छ। हरि हुमागाइँको डिओपी,उत्तम हुमागाइँको छायांकन रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विपिन मल्लको सम्पादन छ।
फिल्मका कलाकार समेत रहेका दीपकराज स्वयंको पटकथा लेखन रहेको यो फिल्ममा कथा र संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले साथ दिएका छन्।
‘छक्का पञ्जा’को अघिल्ला चार सिरिज ब्लकबस्टर भएको यो फिल्मले पनि उत्तै व्यापार गर्ने देखिएको छ। किनभने पहिलो गीतले दर्शकमाझ चर्चा कमाइरहेको बेला दोस्रो गीत पनि हिट हुने पक्कापक्की जस्तै छ।