पोखरा : पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य मित्र राष्ट्र संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन्। सप्ताहव्यापी भ्रमणका क्रममा मेयर आचार्यले नेपाली डे को अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने, नेपाली दूतावासको कार्यक्रमलाई सम्बोधन गर्ने, साथै कर्नेल युनिभर्सिटीमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यस भ्रमणका क्रममा उहाँले भगिनि सहर इथाका नगरका प्रमुख तथा उच्च प्रतिनिधिहरूसँग भेटघाट गर्नुका साथै न्युयोर्कका बिभन्न कार्यक्रम हरुमा सहभागी हुने कार्यक्रम तय भएको छ। यस भर्मण बाट पर्यटन, पूर्वाधार, शिक्षा, र स्वास्थ्य क्षेत्रका अनुभवहरूको आदानप्रदानमा विशेष ध्यान केन्द्रित गर्ने योजना रहेको छ। दुईपक्षीय हितका सवालमा साझेदारीलाई अगाडि बढाउने, विशेष गरी पोखराको पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासमा योगदान पुर्याउने विषयमा छलफल हुनेछ। अमेरिकको मितेरी सहर ईथागा र पोखराबिचको सम्बन्ध लाई जिबन्त बनाउन बिभिन्न योजना बनाउने एजेन्डा रहेको बुझिएको छ।
पोखरालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न र नयाँ अवसरहरूको खोजी गर्न मेयर आचार्यको यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ। उहाँको यस कदमले पोखराको विकास योजनालाई थप सुदृढ बनाउन र मित्र राष्ट्रहरूसँगको सहकार्यलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।
महानगरपालिकाका जनप्रतिनिधिहरूले मेयर आचार्यको भ्रमणलाई सफलताको शुभकामना दिँदै, यस भ्रमणले पोखराको समृद्धिमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन्।