पोखरा : पोखरामा भ्रष्टाचारविरुद्ध ठूलो जनसहभागितामा विरोध प्रदर्शन सम्पन्न भएको छ । राष्ट्रिय एकता अभियान, पोखराको आयोजनामा सहिद चोकस्थित जिल्ला प्रशासन कार्यालय कास्कीको अगाडि भएको प्रदर्शनमा १ सय ५० भन्दा बढी सहभागीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानविन र नागरिक उड्यन प्राधिकरणका भ्रष्ट महानिर्देशकको बर्खास्तीको माग गरेका छन् ।
प्रदर्शनको नेतृत्व राष्ट्रिय एकता अभियानका जिल्ला संयोजक टिका छिरिङ्गले गरेका थिए भने अभियानका केन्द्रीय अध्यक्ष विनय यादव, केन्द्रीय सदस्य ध्रुवराज चालिसे र स्थानीय समाजसेवीहरूको पनि उल्लेख्य उपस्थिति थियो ।
सहभागीहरूले ‘पोखरा विमानस्थल पूर्णरूपमा सञ्चालन गर’, ‘भ्रष्टाचारको छानविन गर’, ‘प्राधिकरणका भ्रष्ट महानिर्देशकलाई हटाऊ’ र ‘चिनियाँ ऋणलाई अनुदानमा बदल’ भन्ने नाराहरू लेखिएका प्लेकार्डहरू बोकेर विरोध जनाएका थिए । प्रदर्शनकारीले विमानस्थलको प्राविधिक त्रुटिहरू समाधान गर्न र ऋणको भार घटाउन सरकारलाई कूटनीतिक पहल गर्न आग्रह गरेका थिए ।
प्रदर्शनमा सहभागीहरूले विमानस्थल निर्माणको क्रममा भएका त्रुटिहरू र भ्रष्टाचारलाई छानबिन नगरेसम्म जनआक्रोश बढ्ने चेतावनी दिएका छन् । ‘विमानस्थलको असफलता हाम्रो लागि मात्र नभएर सम्पूर्ण राष्ट्रको प्रतिष्ठासँग जोडिएको छ’, संयोजक छिरिङगले भने ।
प्रदर्शनकारीहरूले सरकारलाई विमानस्थलको पूर्ण सञ्चालन र भ्रष्टाचारमा संलग्न सबैलाई कानुनी कारबाही गर्न तत्काल कदम चाल्न चेतावनी दिएका छन् । ‘हामी सरकारको निष्क्रियताप्रति अब चुप बस्दैनौँ ’ प्रदर्शनकारीले भने ।
यो विरोधले पोखराका नागरिकहरूको लामो समयदेखिको असन्तुष्टिलाई सशक्त ढङ्गले उजागर गरेको छ । विमानस्थल निर्माणका क्रममा भएका कमजोरीहरू र भ्रष्टाचारले जनतामा गहिरो निराशा पैदा गरेको छ । विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको विषयले लामो समयदेखि चर्चा पाउँदै आएको छ । यस धर्नाले सरकारलाई जवाफदेही बनाउन थप दवाब दिने विश्वास गरिएको छ ।