पोखरा/
जनप्रिय बहुमुखी क्याम्पसको शिक्षक अभिभावक संघको अध्यक्षमा पुष्पराज सिग्देल र सदस्यमा लक्ष्मी थापा निर्विरोध निर्वाचित भएका छन् ।
आइतबार क्याम्पसमा आयोजित पदस्थापन कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्र नारायण विजुक्छेले क्याम्पसको शैक्षिक गुणस्तर र विकास लागि प्राध्यापनरत शिक्षक र अध्ययनरत विद्यार्थीका अभिभावकलाई प्रतिनिधित्व गराउने उद्धेश्यले गठित शिक्षक अभिभावक संघको छुट्टै महत्व रहेकाले क्याम्पसको हितमा काम गर्न आग्रह गर्दै बधाइ ज्ञापन गरे ।
निर्वाचन समितिका संयोजक अधिवक्ता कृष्णप्रसाद तिमिल्सिनाले निर्वाचित अध्यक्ष र सदस्यलाई शपथ खुवाएर प्रमाणपत्र दिएका थिए । निवर्तनमा अध्यक्ष ध्रुवराज पौडेलले नवनिर्वाचित अध्यक्ष सिग्देललाई निर्णय पुस्तिका हस्तान्तरण गरेका थिए ।
पूर्व कार्यवाहक अध्यक्ष परशुराम बराल, निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्का, निवर्तमान अध्यक्ष ध्रुवराज पौडेल, क्याम्पस सञ्चालक समितिका सदस्य विजयराज आचार्य, निर्वाचन समितिका संयोजक अधिवक्ता कृष्णप्रसाद तिमिल्सिना, पब्लिक क्याम्पस प्राध्यापक संघ जनप्रिय इकाईका अध्यक्ष विकास थापामगर र उपप्रशासक एकनारायण अर्यालले क्याम्पसको हितमा शिक्षक अभिभावक संघको चासोले गतिशीलता बढ्ने भएकाले प्रतिवद्ध भएर काम गर्न शुभकामना दिएका थिए ।
विश्वविद्यालय अनुदान आयोगमा अनुवन्धित हुँदा २०६९ सालमा संघ गठन गरिएको थियो । क्याम्पसको नियमावली २०५४ अनुसार शिक्षक अभिभावक संघ विनियम २०८१ बनाइ निर्वाचन सम्पन्न भएको हो । संघका अध्यक्ष सञ्चालक समितिमा पदेन सदस्य रहने व्यवस्था छ ।
७ सदस्यीय संघमा शिक्षकबाट चेतबहादुर पोख्रेल र दिव्यालक्ष्मी चालिसेलाई चयन गरिएको छ । ३ सदस्य क्याम्पस सञ्चालक समितिले मनोनय गर्ने पब्लिक क्याम्पस प्राध्यापक संघ जनप्रिय क्याम्पस इकाईका सभापति विकास थापामगरले जानकारी दिए । ५ हजार अभिभावक र १ सय ५० शिक्षक रहेको जनप्रिय क्याम्पस असोज २ गते राष्ट्रिय शिक्षा दिवसमा गण्डकी प्रदेशको सर्वोकृष्ट सामुदायिक क्याम्पसको रूपमा पुरस्कृत भएको थियो ।