तनहुँ/
विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा यही असोज ११ गते बन्दीपुरमा सडक खाना महोत्सवका साथै विविध सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।
बन्दीपुर गाउँपालिका, बन्दीपुर पर्यटन विकास समितिको आयोजना तथा स्थानीय सङ्घसंस्थाको सहकार्यमा सडक खाना महोत्सव आयोजना गरिएको पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताउनुभयो । बन्दीपुरमा अब पर्यटकको याम शुरु हुन लागेकाले व्यवसायी पर्यटकको स्वागतका लागि तयार रहेको उहाँको भनाइ छ ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि कार्यक्रमले टेवा मिल्ने उल्लेख गर्नुभयो । गाउँपालिकाले बन्दीपुर आउने विदेशी पर्यटकका लागि यहाँका गन्तव्यस्थलबारे जानकारी दिन सजिलो होस् भन्ने हेतुले नौ वटा भाषामा सामग्री तयार गरिसकेको छ ।
खड्देवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रुपमा सूचीकृत गरेको छ ।