सुचना, समाचार र मनोरन्जन

“दर्शकको मागमा ‘चित्रा’ पुनः प्रदर्शन हुने,पोखरामा विशेष शोको तयारी

पोखरा/

चलचित्र ‘चित्रा’ पोखराको श्रीकृष्ण हलमा विशेष शोको रूपमा पुनः प्रदर्शन हुने भएको छ। दर्शकहरूको माग अनुसार आफ्नै गृह जिल्ला पोखरामा पुनः प्रदर्शन गर्न ‘चित्रा’का कलाकार एवम् कार्यकारी निर्माता सन्तोष अधिकारी सक्रिय भएका छन्। अधिकारी यस चलचित्रको पुनः प्रदर्शनका लागि उत्साहित छन्, जसले दर्शकहरूलाई फेरि मनोरञ्जन दिन तयारी गरिरहेको छ।

घनश्याम लामिछानेको निर्देशनमा बनेको यो चलचित्रले बाबु-छोरीको मार्मिक कथा प्रस्तुत गर्छ। चलचित्रमा मुख्य पात्र बाबुको भूमिकामा सन्तोष अधिकारीले अभिनय गरेका छन्, जसले यसै चलचित्रमार्फत नेपाली रजतपटमा आफ्नो डेब्यु गरेका हुन्। नेपालका विभिन्न शोहरूमा पनि चलचित्रकर्मीहरूले कथाले हृदय छोएको बताउँदै अभिनेता सन्तोष अधिकारी, प्रमोद अग्रहरी, सिम्रन खड्का, र बाल कलाकार आयुशी खड्काको उत्कृष्ट कामको प्रशंसा गरेका थिए।

‘चित्रा’मा सन्तोष, प्रमोद, र सिम्रनका अलावा शुभेच्छा खड्का, अर्पण थापा, मेनुका प्रधान, प्रकाश घिमिरे, अञ्जना बराइली, आयुशी ढकाल, कुमार गुरुङ, र उज्ज्वल ढकाललगायतका कलाकारहरूको अभिनय रहेको छ। महेश पौडेलको छायाङ्कन रहेको यस चलचित्रमा राजनराज सिवाकोटीको सङ्गीत, र मनिष गौतमको पटकथा तथा संवाद लेखन छ। चलचित्रका निर्माता आशिष थापा मगर हुन् भने एसोसिएट निर्मातामा राज श्रेष्ठ रहेका छन्। बनिश शाह र सन्देश शाहको संयुक्त सम्पादन रहेको यस चलचित्रले पोखरामा पुनः दर्शकहरूलाई आफ्नो कथा प्रस्तुत गर्न पाउँदा चलचित्र टोली उत्साहित रहेको छ।

कलाकार तथा निर्माता सन्तोष अधिकारीले यस चलचित्रमा गरेको मेहनतलाई दर्शकहरूले सकारात्मक रूपमा लिएका छन् र पुनः प्रदर्शनको अवसरमा सबैजना उत्साहित देखिएका छन्।

Leave A Reply

Your email address will not be published.