पोखरा/
गण्डकी थण्डर्सले आगामी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल)मा सहभागी हुने आफ्नो टोली निर्माणका लागि बुधबार पोखरामा ट्यालेन्ट हन्ट सम्पन्न गरेको छ। यस ट्यालेन्ट हन्टबाट स्याङ्जाकी १७ वर्षीया युवा खेलाडी सोइङ्ग थापा गण्डकी थण्डर्सको टोलीमा समावेश हुँदै पहिलो पटक नेपालमा सञ्चालन हुन लागेको फ्रेन्चाइज महिला भलिबल लिगमा आफ्नो स्थान पक्का गरेकी छिन्।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न कार्यक्रममा २२ युवा खेलाडीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। उचाइ, स्किल र खेलमा अनुभवको आधारमा थापा गण्डकी थण्डर्सको अन्तिम टोलीमा छनोट भएकी हुन्। यस अवसरमा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, राखेपका सदस्य मधुसुदन सुवेदी, गण्डकी थण्डर्सका निर्देशक विकास खेतान, परिषदकी सदस्य शुभकन्या गुरुङ, नेपाल भलिबल संघका सदस्य राजकुमार गुरुङ लगायतको उपस्थिति रहेको थियो।
गण्डकी थण्डर्सका निर्देशक विकास खेतानले आफ्नो टोली अब पूर्ण भएको घोषणा गर्दै आगामी प्रतियोगितामा टोलीको ध्यान जितमा केन्द्रित गरिने बताए। उनले गण्डकी क्षेत्रलाई भलिबलको महत्वपूर्ण केन्द्र बनाउने योजना रहेको र आगामी दिनमा यस क्षेत्रमा भलिबल एकेडेमीको स्थापना गर्ने योजना अघि सारे। गण्डकी थण्डर्सको टोलीमा सरस्वती चौधरी मार्की प्लेयरको रूपमा रहेका छन्।
ट्यालेन्ट हन्टमा छनोट भएकी सोइङ्ग थापा हाल श्री भगवती माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छन्। भलिबलमा उनको प्रतिबद्धता र क्षमता गण्डकी थण्डर्सलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
यही असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशालाको कभर्डहलमा हुने एभरेष्ट महिला भलिबल लिगमा नेपाली र विदेशी खेलाडीहरूबीचको प्रतिस्पर्धाले नेपाली भलिबल खेलको स्तरलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। परिषदका सदस्य सचिव श्रीधर शर्माले बताए ।