म्याग्दी/
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माणको काम शुरू भएको आठ वर्षमा पनि पूरा भएको छैन । ६ वर्षअघि सकिनुपर्ने २५ किलोमिटर दूरीको सडक निर्माणको काम अधुरो हुँदा स्थानीयवासी, पर्यटक र व्यवसायीहरूलाई सास्ती भएको छ ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले सडक निर्माणमा भएको ढिलाइका कारण यातायात सञ्चालनमा समस्या, दुर्घटनाको जोखिम, खाल्डाखुल्डी, धुलो र हिलोले हैरान बनाएको बताउनुभयो । २०७३ सालमा शुरू भएको सडक निर्माणको कामले अझै पूर्णता पाएको छैन ।
लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङबाट लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङ जोड्ने २५ किलोमिटर सडक स्तरोन्नति गर्न २०७३ सालमा तामाङ–गौरी–पार्वति–कोशी एण्ड न्यौपाने जेभीले २६ करोड रुपैयाँमा ठेक्का लिएको थियो । काम पूरा नहुँदा सडकमा धुलोमा गाडी फस्ने, उकालो, साँघुरो ठाउँमा गाडी वारपार गर्न समस्या भएको छ ।
मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने एक सय १० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले २०७२/७३ देखि सात वटा खण्डमा ठेक्का लगाएको थियो । ६ वटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकिएको छ ।