सुचना, समाचार र मनोरन्जन
Sarangi

तीन वटा समिति बनाएर विद्यालय शिक्षा विधेयकमाथि छलफल हुने

काठमाडौँ/

संसद्को शिक्षा समितिमा रहेको विद्यालय शिक्षा विधेयकका तिहारपछि छलफल हुने भएको छ। संशोधनकर्ताहरूसँगको छलफल सकिएपछि समितिले तिहारपछि दफावार छलफल गर्न लागेको हो।

तिहारपछि तीन वटा उपसमिति बनाएर विधेयकमा छलफल गर्ने तयारी भइरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले जानकारी दिइन्।

आफ्नो कार्यकालको पहिलो १०० दिन पुगेको उपलक्ष्यमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले तिहारपछि विधेयकमा छलफल गरिने बताएकी हुन्। ‘तिहार पछाडि निरन्तर छलफल हुनेछ। असाध्यै धेरै संशोधन परेकाले तीन वटा उपसमिति बनाएर छलफल गर्नेगरी तयारी छ। समितिसँगको छलफलका क्रममा यो कुरा आएको हो,’ उनले भनिन्।

विधेयकमा आएका सुझाव, सरोकारवालाको तर्फबाट आएका विषयहरू तथा धेरै संशोधनका विषयलाई सम्बोधन गर्ने गरी उपसमिति बनाउन लागिएको हो। तिहार पछाडि छलफललाई तीव्रताका साथ अगाडि बढाउने समिति र मन्त्रालयबिच समझदारी भएको उनको भनाई छ।

मन्त्री भट्टराईले बाढी पहिरोका कारण क्षतिग्रस्त विद्यालयहरूमा तिहार पछाडि पठनपाठन गराउने गरी तयारी भइरहेको उनको भनाइ छ। शिक्षक सरुवाको विषय अदालत विचाराधीन अवस्थामा रहनुका साथै अदालतबाट यथावत् अवस्थामा रोक्न नभनेकाले काम अघि बढिरहेको बताइन्।

Leave A Reply

Your email address will not be published.