सुचना, समाचार र मनोरन्जन
Sarangi

३ सरकारी अस्पतालमा बालबालिकाको क्यान्सर उपचार निःशुल्क

काठमाडौं/

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।

आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् ।

मंसिर १ गतेबाट उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कुल हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ । त्यसमध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालय अन्तर्गतको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सार्वजनिक तथ्यांकमा छ ।

नेपालमा सन् २०२२ मा क्यान्सरका २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएका छन् । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ ।

ती बालबालिकालाई परिवारको आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिन र समयमै उपचार गरेर ज्यान बचाउन उपचार निःशुल्क बनाउने निर्णय गरिएको मन्त्री पौडेलले बताए ।

‘समयमै उपचार गर्न सकिए बालबालिकाको क्यान्सर निको पार्न सकिन्छ’, उनले भने, ‘तर आर्थिक अभावमा कोही पनि परीक्षण र उपचाबाट बञ्चित नहोउन् भनेर निःशुल्क बनाउने निर्णय गरेका हौं।’

 

Leave A Reply

Your email address will not be published.