पोखरा महानगरपालिकाको सहयोग तथा परोपकार राष्ट्रिय महासङ्घको व्यवस्थापनमा सञ्चालित पुष्करिणी परोपकार गोकुल धाम पोखरा १४–बाच्छिबुडुवामा सयपत्री फूल फुलेको छ। दीपावली लगायत अन्य शुभकार्यहरुमा उपयोग हुने सयपत्री गौशालामा ढकमक्क फुलेको हो।
पोखरा महानगरपालिका क्षेत्रमा करिब २५० रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको छ।
पोखरा महानगरपालिकाका क्षेत्रमा करिब २५० रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार करिब १०० रोपनी क्षेत्रमा व्यवसायीक सयपत्री फूलखेति गर्ने कृषकहरूलाई बिउमा अनुदान प्रदान गरिएको थियो।
३ सय बढी छाडा पशुचौपायहरु व्यवस्थापन गरिएको गौशालालाई आत्मनिर्भर बनाउन विभिन्न उपायहरू अपनाइरहेको अवस्थामा करिब ७ रोपनी क्षेत्रफलमा ६ हजार ३ सय सयपत्री फूलका बोटहरू लगाइएको व्यवस्थापक एवं भागवत भास्कर युवा पण्डित कमलनयन गौतमले जानकारी दिनुभयो ।
महानगरपालिकाले सयपत्री फुलको समर्थन मूल्य समेत तोकेको छ । यसले उत्पादन विक्री नभई चिन्तित बनेका कृषकहरू राहत मिल्ने नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । कृषकहरूको उत्पादनलाई सकेसम्म बजार सुनिश्चित गरिदिने यदि त्यसो हुन नसके महानगरपालिकाको तर्फबाट कृषकले बेहोरेको घाटाको परिपूर्तिका लागि न्यूनतम समर्थन मूल्य उपलब्ध गराउने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।
पोखरा महानगरपालिकामा गत वर्ष मागको तुलनामा उत्पादन बढी भएको थियो । यसर्थ पोखरा महानगरपालिका सयपत्री फूलमा आत्मनिर्भर रहेको छ ।