कास्की : जापानमा कार्यरत आप्रवासीहरूको अधिकारका पक्षमा क्रियाशील संस्था JP-MIRAI (Japan platform for migrant workers towards responsible and inclusive) का महासचिव केनिचि शोसिदो नेतृत्वको टोलीले पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य तथा प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईसँग भेटवार्ता गरेको छ ।
भेटका क्रममा जापानमा कार्यरत नेपाली आप्रवासी समुदायलाई कसरी सम्मानित एवं सुरक्षित वातावरणमा काम तथा बसोबासको व्यवस्था गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।
जापानमा काम तथा अध्ययनको शिलशिलामा ठुलो संख्यामा नेपालीहरू जाने गरेको र उनिहरूको सुरक्षित आप्रवासनका लागि निरन्तर वकालत गरिरहेको उक्त संस्थाले पोखरा महानगरपालिकासँग सहकार्य गरि भविष्यमा श्रम तथा प्रविधिको साझेदारीका लागि तत्पर रहेको जापानी टोलीले बताएको छ ।
सो क्रममा नगर प्रमुख आचार्यले महानगरपालिकाको तर्फबाट वैदेशिक रोजगारीमा जान चाहानेहरूका लागि भाषिक ज्ञान, सीपमूलक तालिम तथा परामर्श सेवा प्रदान गरिरहेको बताउँदै श्रम र सिपको महत्वलाई प्राथामिकता दिइरहेको बताए । भविष्यमा पनि महानगरपालिका यस्ता प्रकारका साझेदारहरूसँग सहकार्य गर्दै श्रम र सीपको प्रवर्द्धनसहित प्रविधि आदानप्रदानका लागि सकारात्मक रहेको उनले बताए ।