काठमाडौं :
फिल्म ‘लभ स्टेशन’,‘साङ्लो’का साथै ‘रावायाण’मा खलनायकका रुपमा परिचित प्रकाश शाह नयाँ फिल्म ‘सत्यवीर’मा अनुबन्ध भएका छन्। सोमबार निर्माण टिमले उनलाई भिलेनको भुमिकाको लागि अनुबन्ध गरेको हो।
विराज खड्काको निर्देशनमा निर्माण हुन लागेको यो फिल्ममा प्रकाशलाई अनुबन्ध गर्दै पोस्टर पनि सार्वजनिक गरिएको छ। जहाँ उनी एङ्री लूक्समा देखिएका छन्। ग्लब्ससहित सिगार पिउँदै गरेका शाहको पृष्ठभूमिमा जंगल, हात्तीको बंगारा र सुढ देख्न सकिन्छ। त्यस कारण पनि यो फिल्ममा उनको भुमिका विशेष रहेको अनुमान गर्न सकिन्छ। यो पोस्टर उत्सव पाण्डेले तयार गरेका हुन्। निर्माण टिमले यसअघि अभिनेता प्रदीप चौधरीको फर्स्ट्लूक सार्वजनिक गरेको गरेको थियो। कम्पनी गडरेज पिक्चर्स प्रालीको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा निर्मातामा आदेश सुब्बा रहेका छन्।
विराज खड्काको निर्देशनमा बन्ने फिल्म आगामी डिसेम्बरबाट फ्लोरमा जाने छ। एक दशक लामो समयदेखि भिएफएक्स तथा एनिमेसनमा सकृय खड्काको ठुलोपर्दाको लागि निर्देशनमा यो डेब्यू फिल्म रहनेछ । उनले ‘डिज्ने’, ‘पिक्सार’ जस्ता कम्पनिको लागि हलिउड फिल्म ‘स्टार वार’, ‘लेगो’ लगायतमा भिएफएक्स र एनिमेसनको काम गरेका छन्। खड्काले नेपालमा ‘प्रेमगीत ३’, ‘बाँबरी’, ‘कांडेतार’ लगायतका दर्जनौं फिल्ममा भिएफएक्स सुपरभाइजरको काम गरेका छन्।
एक सय भन्दा बढि भिएफएक्स र एनिमेसन स्कुल सञ्चालन गरेर विधार्थीलाई प्रशिक्षण दिएरहेका खड्काले उच्च कोटीको फिल्म निर्माण गर्ने उद्देश्यसहित फिल्म निर्देशनमा जुटेको बताए। साढे २ करोडको लागतमा निर्माण हुने फिल्ममा परिचित कलाकारहरू नै प्रमुख अभिनयमा रहने निर्माता सुब्बाले बताए।
शाहसँगै कलाकारमा प्रदीप चौधरी र द्वन्द्व निर्देशकमा हिमाल केसी बाहेक निर्माण कम्पनिले फिल्मको ‘कास्ट एण्ड क्रु सर्वजनिक गरेको छैन्। केही हप्तामा औपचारिक कार्यक्रमसहित कास्ट एण्ड क्रू सार्वजनिक गर्ने निर्माण टिमले बताएको छ ।