काठमाडौं :
अभिनेता प्रकाश घिमिरे पछिल्लो समय फिल्म क्षेत्रमा नै व्यस्त रहेका छन्। पोखरामा बस्दै आएका घिमिेर नाटक र फिल्म क्षेत्रका लागि चिनाइरहनुपर्ने नाम होइन। प्राय जसो दयाहाङ राईले अभिनय गरेको फिल्ममा उनी नछुट्ने कलाकार हुन् भन्दा फरक पर्दैन। दर्जनौं फिल्ममा अभिनय गरिसकेका घिमिरेले अभिनय गरेको पछिल्लो फिल्म ‘अग्निदहन’मार्फत दर्शकमाझ आउने तयारीमा छ।
प्रकाश यही शुक्रबारबाट रिलिज हुन लागेको यो फिल्ममा उनका फरक भुमिकामा रहेको छ। पोखराकै अब्बल निर्देशकमा गनिएका घनश्याम लामिछानेले निर्देशन गरेको यो फिल्म अलिक फरक छ। पोखराकै माओत्से गुरुङ समेत जोडियोको यो फिल्ममा अधिकांश पोखरा आसपासका कलाकारले अभिनय गरेका छन्। यो फिल्मसँग सम्बन्धित रहेर घिमिरेसँग गरिएको कुराकानी :
तपाई अग्निदहनमा कसरी जोडिनुभयो । कतिको याद छ?
मलाई राम्ररी नै याद छ। म दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म ‘घामपानी’को सुटिङ गरेर फर्कदा घनश्याम लामिछानेजीले फोन गर्नुभएको थियो। उहाँले हामी फिल्म बनाउँदैछौं, काम गर्नुपर्यो भन्नुभयो । म शिक्षक पनि भएकाले पढाउने काम पनि गर्नुपर्ने र सुटिङले गर्दा पढाउन नपाएको भनेर केही विचार गरौंला भनें। पछि माओत्से गुरुङले पनि फोन गर्नुभयो। सामाजिक विषयमा फिल्म बन्दैछ भनेपछि म काम गर्न सहमत भएँ। म आफैं पनि सामाजिक काममा चासो राख्ने भएकाले काम गर्न मन लाग्यो । पछि टिम हेर्दा त मेरा आफ्नै मान्छे रहेछन्। अनि यो फिल्ममा काम गर्न राजी भए।
ट्रेलर हेर्दा तपाईं ‘बोक्सी हुँदैन’ भन्ने कुरामा जोड दिइरहनु भएको छ। वास्तविकतामा तपाईंको धारणा कस्तो छ?
म ‘बोक्सी’ हुँदैन भन्ने मान्यता नै राख्छु।मानिसमा मानसिक रोग हुन्छ। त्यो रोगलाई चिन्न नसकेर ‘बोक्सी’ अथवा अरु नै नाम राखिन्छ। पहिला पहिला डाक्टर र धामीझाक्रीले कोही मान्छे बिरामी भयो भने झारफुक गर्दा वा उपचार गर्दा उसको रोग चिन्न सकेनन्। रोग नचिनेपछि ‘बोक्सी’ भन्न थाले। अहिले त मान्छे सचेत भइसकेका छन्। म आफै पनि शिक्षक भएको कारण यसमा बोक्सी हुँदैनन् भन्ने नै धारणा राख्छु।
तपाईंलाई यहि कुरामा नै जोड्न चाहान्छु। तपाईको बुझाईमा साँच्चै बोक्सी छन् होला त?
हरेक कुरामा वैज्ञानिक कुरा जोडिएका हुन्छन् । पहिला पहिला महिलालाई मानसिक रोग हुँदा धामीझाक्री र डाक्टरकहाँ लैजान्थे । ती महिलालाई मानसिक रोग लागेको छ भनेर कसैले भन्न सक्दैन थिए। अनि के भन्ने त भन्दा ‘बोक्सी’ शब्द प्रयोग गरे। खासमा महिलामा ‘बोक्सी’ समस्या होइन, उनीहरुमा मानसिक रोग देखिएको हो। धामीझाक्री र डाक्टरले के बिरामी हो भन्ने कुरा भन्न जानेनन्।
यो फिल्ममा काम गरिसकेपछि महिलालाई बोक्सीको आरोप किन लगाइदो रहेछ भन्ने बुझ्नुभयो कि ?
बोक्सी भन्ने कुरा मान्छेले आफैंले खडा गरेको चिज हो। मान्छे भित्र सबै चिज छ, तर त्यसलाई उसको दिमागले चिन्न सकेन। को मान्छे कस्तो बिरामी छ भन्ने कुरा दिमागले बुझ्न नसकेपछि ‘बोक्सी’लगायतका आरोप लगाइन्छ। मानसिक रोगको उपचार गर्नुपर्ने समयमा उनीहरुलाई अनेक यातना दिइने गरिन्छ । त्यो गलत हो । रोगको पहिचान गर्न नसक्नु नै हाम्रो कमजोरी हो ।