पोखरा/
पोखरामा आगामी मंसिर १५ गते निशुल्क ध्यान योग शिविर आयोजना हुँदैछ ।
पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पोखरा उद्योग वाणिज्य संघ, पोखरा पर्यटन परिषद, लेखनाथ उद्योग वाणिज्य संघ र पतञ्जली योग समितिको सहकार्यमा श्री हिमालय समर्पण ध्यान योग नेपालद्वारा आयोजित शिविरमा महर्षि श्रीशिवकृपानन्द स्वामीजीको मार्गदर्शन रहनेछ।
स्वामी नेपाल भ्रमण वर्ष २०२० का पर्यटन सद्भावना दूत तथा आध्यात्मिक गुरु हुन । पहिलो पटक पोखरामा हुन लागेको यस कार्यक्रमले मानसिक, शारीरिक र आध्यात्मिक शुद्धिको अनुपम अनुभव दिने लक्ष्य लिएको छ।
ध्यान योग शिविरलाई लिएर पोखरावासीमा चासो र उत्साहको माहोल देखिएको छ। ध्यानले शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन र पारिवारिक सद्भाव बढाउने विश्वासका कारण यो कार्यक्रमप्रति आम जनताको ध्यान खिचिएको छ।
पोखरा पर्यटनलाई पनि यसले थप उचाइ दिने अपेक्षा गरिएको छ, किनभने शिविरले आन्तरिक शान्ति र सकारात्मक ऊर्जा प्रवाह गर्नेछ।