सुचना, समाचार र मनोरन्जन

काठमाडौंमा नेपाल अफ्रिका अन्तराष्ट्रिय चलचित्र महोत्सव गरिदै,सहभागी हुन आयोजकको आह्वान

काठमाडौं :

काठमाडौंमा ‘१३ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल–२०२५’को आयोजना हुने भएको छ। आयोजकले सोमबार फेस्टिभलको आयोजना हुन लागेको जानकारी दिएको हो।

‘१३ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिबल–२०२५’ लागि सहभागी हुनका लागि समेत आह्वान गरिएको छ। यसमा सहभागी हुनका लागि फिल्मकर्मीहरुले चलचित्र, टेली चलचित्र तथा लघु चलचित्र समावेश गर्न आयोजक पक्षले अनुरोध गरेको छ । यो फेस्टिभल आगामी माघको पहिलो साता काठमाडौंमा हुने छ। फेस्टिभलमा सहभागी हुनका लागि आयोजकले दुई महिना अघि नै फारम खुला गरिएको जानकारी दिएको छ।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा यो महोत्सव हुन लागेको हो। महोत्सवको लागि चलचित्र धमाधम प्राप्त भएको आयोजक पक्षले जनाएको छ ।

यसपटकबाट अफ्रिकासँगै अन्तराष्ट्रिय समुह पनि थप गरिएको र अन्य देशका चलचित्र पनि महोत्सवमा देखाईने भएको छ । महोत्सवमा अफ्रिकन चलचित्रलाई विशेष महत्वका साथ प्रदर्शन र पुरस्कृत गरिने भए पनि अन्तराष्ट्रिय समुह अन्तर्गत विश्वका केही राम्रा चलचित्रलाई पनि समावेश गरेर प्रदर्शनी गरिने आयोजक पक्षको कथन छ ।

महोत्सवमा सहभागी हुन चाहने चलचित्रहरुले आगामी डिसेम्बर अन्तिमसम्म आफ्नो चलचित्र सहभागी गराउन पनि आह्वान गरिएको छ। जसका लागि फिल्मफ्रिवे डटकम तथा इमेलमार्फत तथा प्रत्यक्ष आयोजकको कार्यालयमा सम्पर्क गरेर पनि चलचित्र समावेस गर्न पाईने भएको छ । जसमा नेपाली तथा आदिवासी चलचित्र एवम् लघु चलचित्र र बृत्तचित्रलाई समावेस गर्न आह्वान गरिएको छ । यस्तै विधार्थीहरुले पनि महोत्सबमा आफ्ना छोटा चलचित्र सहभागी गराउन पाउने छन् । महोत्सबमा उत्कृष्ट चलचित्रहरुलाई प्रदर्शनसँगै अवार्डबाट सम्मानित पनि गरिने छ।

यो महोत्सवकी अध्यक्ष एवम् कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले १४ वर्षअघिबाट सुरु गरिएको यो महोत्सवले नेपाल र अफ्रिकाको चलचित्र सांस्कृतिक आदन प्रदानमा महत्वपूर्ण योगदान दिँदै आएको बताइन्।

उनले भनिन्,‘हामीले नेपाल र अफ्रिकाको संस्कृति आदन प्रदानसँगै चलचित्रबाट दुई फरक महाद्धिपलाई जोड्न यो महोत्सव निरन्तर आयोजना गर्दै आएका छौं। महोत्सवले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनु पर्छ भन्ने हाम्रो उदेश्य रहेको छ।’

यसका निर्देशन डब्बु क्षत्रीका अनुसार बिगत १४ वर्षदेखि यो महोत्सव आयोजना हुँदै आएकोमा कोभिडका कारण एक वर्ष भने आयोजना हुन सकेन्। बिगत झै यसपटक पनि यो महोत्सवलाई तीन दिनसम्म आयोजना गरिनेछ। निर्देशक क्षत्रीले यसपटक महोत्सवमा नेपालसँगै विदेशी चलचित्रकर्मीहरुको पनि जमघट हुने बताए। महोत्सवमा चलचित्र प्रदर्शनसँगै विभिन्न विषयमा चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तरक्रियालगायतका विभिन्न कार्यक्रम रहेको छ ।

Leave A Reply

Your email address will not be published.