सुचना, समाचार र मनोरन्जन

डोरीमा बाँधिए अञ्जना र प्रविण,आइतबारबाट फ्लोरमा जाने

काठमाडौं :

पछिल्लो समय चर्चामा रहेकी अभिनेत्री अञ्जना बराइलीको मुख्य भुमिका रहने फिल्म ‘डोरी’को मुहूर्त सम्पन्न भएको छ। निर्माण पक्षले बिहिबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै फिल्मको मुर्हत गरेको हो।

आइतबारदेखि छायाङ्कन प्रारम्भ हुने यस फिल्ममा अञ्जनाका अलवा प्रविण खतिवडाको मुख्य भुमिका रहने छ। निर्माण पक्षले कार्यक्रममा यो फिल्म नयाँ कथा र शैली पस्कने तयारी भएको जानकारी दिएको छ। मुहूर्त कार्यक्रममा फिल्मका प्रमुख कलाकार र टिमका सदस्यहरूको उपस्थिति भएका थिए। अभिनेता प्रवीण खतिवडा, अभिनेत्री अञ्जना बराइली, शिशिर बाङ्गदेल, राज पौडेल, वीरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राई, र नूतनलगायतका कलाकारहरूले पूजामा सरिक भए।

उनीहरुले मुर्हत कार्यक्रममा फिल्मको सफलताको कामना समेत गरे। निर्देशक अरुण लामा, कार्यकारी निर्माता राज थापा, छायाकार सौरभ लामा, र सङ्गीतकार राजनराज सिवाकोटी लगायतका टिमका मुख्य सदस्यहरूको पनि सहभागिता रह्यो। अन्य कलाकारहरुमा कविता आले, सजन श्रेष्ठ लगायतको पनि अभिनय रहने निर्माण पक्षले बताएको छ।

फिल्मका बारेमा बोल्दै निर्देशक अरुण लामाले चलचित्रको नामको गहिराइ र अर्थबारे व्याख्या गरे । उनले भने, ‘डोरी नामले बाँधिएको सम्बन्ध र जिम्मेवारीलाई प्रस्तुत गर्छ । यो फिल्मका पात्रहरू आ(आफ्ना तरिकाले बाँधिएका छन्। कोही जिम्मेवारीको डोरीले, कोही समस्याको डोरीले, र कोही मायाको डोरीले।’

लामाका अनुसार, ‘डोरी’ले सामाजिक यथार्थ र समकालीन सन्दर्भलाई कथा मार्फत जीवन्त बनाउनेछ । उनले भने,‘यस फिल्मले दर्शकलाई आत्मसात् गराउनेछ, जहाँ उनीहरूले आफूलाई पात्रहरूमा देख्न सक्नेछन्।’

निर्देशक लामाको कुरामा अभिनेता खतिवडाले पनि सहमति जनाए। उनले ‘डोरी’लाई विभिन्न श्रेणीको मिश्रण रहेको फिल्मका रूपमा परिभाषित गरे।

उनले भने,‘यस फिल्ममा रहस्यमय कथा, सामाजिक यथार्थवाद, र ‘सस्पेन्स क्राइम’को संयोजन गरिएको छ। यी तीन वटाको रोचक मिश्रणले दर्शकलाई मनोरञ्जन दिनेछ भन्ने विश्वास छ।’
उनले थपे, ‘डोरी’ एक सामाजिक, रहस्यमय, र सस्पेन्सले भरिएको चलचित्र हो, जसले समाजको यथार्थतालाई प्रस्ट्याउने प्रयास गर्नेछ। निर्देशकका अनुसार, फिल्मको कथाले दर्शकलाई सोच्न बाध्य बनाउनेछ । रहस्यमय घटनाक्रम र सन्देशमूलक कथाले सबै वर्गका दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।’

अभिनेत्री अञ्जना बराइलीले नयाँ टिमसँगको सहकार्यलाई विशेष अनुभवका रूपमा लिएको सुनाईन्।

उनले भनिन्,‘नयाँ प्रोजेक्टमा काम गर्न पाउँदा सधैँ रमाइलो लाग्छ। यो फिल्ममा नयाँ आइडिया छ र यसले दर्शकलाई नयाँ अनुभूति दिनेछ। मुहूर्तपछि ऊर्जा र उत्साहले भरिएकी छु, र यो फिल्म सफल हुनेमा विश्वस्त छु।’

मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेको यो फिल्मका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन्।यसमा सङ्गीत राजनराज सिवाकोटी, सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशन राजु तामाङले गर्नेछन् । ‘डोरी’ आगामी वर्ष सन् २०२५ मा रिलिज लक्ष्य राखिएको छ।

Leave A Reply

Your email address will not be published.