
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने
- पोखरामा मौलिक देउसीभैलो उत्सव आयोजना हुँदै, उत्कृष्ट टोलीलाई २५ हजार
- लक्ष्मीपूजाको दिन बिजुलीको अधिकतम माग झण्डै १ हजार ७०० मेगावाट रहने अनुमान
- पशुपन्छीसँगको आत्मीयता हाम्रा चाडपर्वहरूको सुन्दर पाटो हो: प्रधानमन्त्री शाह
- आज कार्तिक कृष्ण त्रयोदशी, आयुर्वेदका प्रवर्तक धन्वन्तरि जयन्ती
- धार्मिक यात्राको पुण्य सामाजिक सेवामा जोड्दै योगेश गुरुङ्ग
- निरुता र उत्तमको अभिनय रहेको ‘सारथी’को गीत सार्वजनिक
- फ्राइडे रिलिजमा ‘पाँच पाण्डव’
- ‘सिन्दुरे जात्रा’को फर्स्ट लुकमा रोहिरहेका विजय र अञ्जना
- स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार
दुप्चेश्वर मन्दिरमा धान्यपूर्णिमा मेलाको तयारी पूरा
नुवाकोट : धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने मेलाको तयारी पूरा भएको छ। ‘जे माग्यो त्यो सिद्ध गराउने’ विश्वास गरिने दुप्चेश्वर महादेवको मन्दिरमा एकादशीदेखि सुरु भएर पूर्णिमासम्म सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको हो।
यस वर्षको मेला भर्न तथा मन्दिर दर्शन गर्न शनिबारदेखि भक्तजन आउन थालेका मन्दिरका पुजारी भगवानहरि धितालले जानकारी दिए। उनका अनुसार पछिल्लो दिनमा दैनिक तीन हजारहाराहारीमा भक्तजनबाट मन्दिर दर्शन भइरहेको छ।
दुप्चेश्वर क्षेत्र विकास कोषमार्फत दुप्चेश्वर गाउँपालिकासँगको समन्वयमा धान्यपूर्णिमा मेला सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिए। उनका अनुसार विभिन्न समिति र उपसमिति गठन गरेर दर्शनार्थीलाई सहज बनाउन आवश्यक तयारी चुस्त बनाइएको छ।
मेलामा सहभागी हुने दर्शनार्थीलाई दर्शन एवं पूजा–आराधना गर्न, स्वास्थ्य सेवा, सुरक्षा, खाजा–नास्ता तथा आवासको प्रबन्ध, सवारीसाधन पार्किङलगायत व्यवस्थापन प्रभावकारी बनाइएको कोषका संरक्षकसमेत रहेका अध्यक्ष थापाले बताए।
दुप्चेश्वर महादेवको महिमा
पौराणिक कथनअनुसार धेरै वर्ष पहिला स्थानीयको गाई हराएपछि खोजी गर्दै जाँदा अनकन्टार पहरोमा पुगेर शिलामा दुध चढाइरहेको भेटिएकाले उक्त शिलालाई दुग्धेश्वर महादेव भएको विश्वासमा पूजा–आराधना गर्ने परम्परा स्थापित भएको मन्दिरका पुजारी धितालले बताए। गाईले दुध चढाएको हुँदा दुग्धेश्वर हुँदै अहिले यसलाई दुप्चेश्वर भन्न थालिएको उनको भनाइ छ।

यस पवित्र स्थललाई समुद्र मन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटिएका महादेव शिव काठमाडौंको पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा वास बसेर रसुवाको गोसाइँकुण्ड गएको सन्दर्भ किंवदन्तीसँग जोडिएको पुजारी धितालले बताए। उनका अनुसार ‘भक्तजनले जे माग्यो त्यो सिद्ध गराउने’ भगवानको रूपमा पुजिने दुप्चेश्वरले विशेषगरी सन्तान नभएकालाई सन्तान सुख दिने विश्वासका साथ भक्तजनको घुइँचो लाग्ने गरेको छ।
मन्दिरमा दर्शन गरेमा सन्तान प्राप्ति, बोली नफुटेका बालबालिका बोल्न सक्ने, गाईभैँसीको दाम्लो चढाएमा पशुधनको फलिफाप, एकललाई दम्पती प्राप्तिलगायत आस्था र विश्वासमा मन्दिरमा दर्शन गर्न दैनिक सयौँको संख्यामा भक्तजन पुग्ने गरेका छन्। धान्यपूर्णिमामा लाग्ने मेलाको अवसरमा भने दैनिक हजारौँको संख्यामा भक्तजन यहाँ जाने गर्दछन्।
दुप्चेश्वर महादेवलाई हिन्दु र बौद्धमार्गीको साझा आस्थाको रूपमा पुज्ने गरिन्छ। महादेवको स्थलसम्म पुग्न यातायातको उपलब्ध सहज भएकाले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सहभागी हुन सजिलो छ। काठमाडौंबाट करिब ६२ किलोमिटर यात्रा गरेपछि मन्दिर पुग्न सकिन्छ।
काठमाडौंको टोखा–छहरे खण्डअन्तर्गत टोखा–छहरे–चौघडा–खरानीटार–समुन्द्रटार हुँदै दुप्चेश्वर मन्दिरसम्म करिब ६२ किलाेमिटर यात्रा गरेपछि यहाँ पुग्न सकिन्छ। काठमाडौंबाट धादिङको गल्छी हुँदै यात्रा गर्नेलाई देवीघाटबाट गँगटे–ढिकुरे–माछापोखरी (नुवाकोट)–खरानीटार–समुद्रटार हुँदै दुप्चेश्वर मन्दिर पुग्न करिब ९८ किलाेमिटर यात्रा तय गर्नुपर्दछ। नुवाकोटको सदरमुकाम विदुरबाट ४० किलाेमिटर उत्तर–पूर्वमा यो मन्दिर अवस्थित छ।
मेलामा सहभागी भक्तजनका लागि थर्पु, अस्थायी आवासका साथै झाँक्री, लामा, ठ्याङ्ग्रेहरूका लागि थप सुविधाको व्यवस्था मिलाइएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ।
मेला धूपीसहित बाँस र निगालोबाट बुनेका डोको, थुन्से, भकारीको कारोबारका लागि परिचित मानिन्छ। लाङटाङ राष्ट्रिय निकुञ्जको उत्पादन उपभोग गरी ती वस्तु बनाउने गरिएकाले निकुञ्जले कडाइ गरेपछि हस्तकलाबाट उत्पादित सामग्री गिरावट हुँदै जानुका साथै यसको पहिचान पनि हराउँदै गएको स्थानीयको भनाइ छ।