काठमाडौं :
गत बैशाख ५ गते धुमधामका साथ बागलुङका विष्णु सापकोटासँग विवाह गरेकी गायिका एलिना चौहानले डिभोर्सका लागि अदालतमा मुद्दा दायर गरेकी छन्। शुक्रबार उनले आफु श्रीमानसँग बस्न नसक्ने र अनेक शंका गरेको भन्दै उनले डिभोर्सका लागि मुद्धा दायर गरेकी हुन्।
जिल्ला अदालत, काठमाडौंमा उनले दायर गरेको मुद्दामा लेखिएको छ–‘विपक्षि विष्णु सापकोटा र म फिरादिका बिच वि.सं २०८१ साल वैशाख ५ गते माया प्रेममा रहेकोमा सोही आधारमा सामाजिक परम्पार अनुसार विवाह भएको हो । हामी दुई बिचको वैवाहिक सम्बन्धबाट कुनै जायजन्म भएको छैन र म गर्भवती पनि छैन । म फिरादी र विपक्षी प्रतिवादी बिच विवाह भएको एक महिनापछि अष्ट्रेयिा गएका थियौं । अष्ट्रेलिया गएपछिका सुरुका केही दिनसम्म हामी दुई बिचको सम्बन्ध ठिकै राम्रै चलिरहेको थियो । निजका विरुद्ध मैले नेपाल तथा विदेशमा यस निवेदन बाहेक कुनै निवेदन दिएको छैन ।’
उनले निवेदनमा आफु कलाकार भएर कुनै कार्यक्रममा अबेरसम्म बस्दा श्रीमानले शंका उपशंका गरेको उल्लेख गरेकी छन्।
उनले लेखेकी छिन्,‘म कलाकारिता क्षेत्रमा काम गर्ने भएकोले कार्यक्रममा सहभागी हुन जाँदा कहिले काँही अबेरसम्म पनि बस्नुपर्ने हुँदा विपक्षी पतिले अनेक शंका उपशंका गर्ने, कार्यक्रमको बिचमा नै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि वाधा पुर्याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो । त्यस्तैमा तीन महिनाको बसाई पछि म नेपाल फर्किएँ । नेपाल फर्किएपछि पनि म कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रमहरुमा ब्यस्त हुँदा निज बिपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेरि अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बिचको बैबाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्नेदेखि म फिरादी र विपक्षी पति बिच सम्बन्ध कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पति पत्नीको सम्बन्धमा रहनु बस्नु भन्दा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ९५(ग)को आधारमा सम्बन्ध विच्छेद गरी स्वतन्त्र भै आ आफ्नो जिवन बिताउने श्रेयष्कर लागेकोले निज विपक्षीबाट अंश तथा माना चामल नलिने गरी यो फिरादपत्र लिई सम्मानित अदालत समक्ष उपस्थित भएकी छु ।’