सुचना, समाचार र मनोरन्जन

सडक स्तरोन्नति नहुँदा म्याग्दी बाँसखर्कका किसान मर्कामा

म्याग्दी/

सडक स्तरोन्नति नहुँदा म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न समस्या भएको छ । बाँसखर्क धवलागिरि क्षेत्रमा धेरै सुन्तलाखेती हुने गाउँ हो ।

म्याग्दीको कालीपुलबाट बगरफाँट हुँदै बाँसखर्क जोड्ने सडक स्तरोन्नति नहुँदा घुमाउरो र कच्ची सडकमा बढी भाडा तिरेर सुन्तला ढुवानी गर्नुपरेको हो । ठूला सवारीसाधन गाउँमा पुग्न नसक्दा सुन्तला ढुवानी गर्न समस्या भएको बाँसखर्कका अगुवा किसान जगतबहादुर खत्रीले बताए ।

‘साना खालका बोलेरो जीपमा थोरैथोरै सुन्तला टिपेर बेनीसम्म झार्ने र ट्रकमा राखेर देशका विभिन्न ठाउँमा पठाउँदा झन्झटका साथै श्रम र समय धेरै खर्चनुुपरेको छ’, उनले भने, ‘सडकको समस्याले सुन्तला थिचिने, मिचिने र कुहिएर नष्ट भएर किसानले क्षति व्यहोर्नुपरेको छ ।’

दश वर्षअघि स्थानीयवासीले चन्दा सङ्कलन गरेर मार्ग खोलेको पाँच किलोमिटर दूरीको बेनी–बगरफाँट–बाँसखर्कबाहेक बाँसखर्क जोड्ने अरू दुईवटा सडक छन् । बेनी–बगरफाँट–बाँसखर्कभन्दा बेनी–मल्लाज–बाँसखर्क सडक पाँच किलोमिटर र मोहनचोक–मल्लाज–बाँसखर्क सडक १० किलोमिटर घुमाउरो छ ।मल्लाज क्षेत्रको सडक स्तरोन्नति भए पनि बाँसखर्क प्रवेश गरेपछि साँघुरो, ग्रेड तथा मोड नमिलेको कच्ची सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्छ । बाँसखर्कका दुई सय घरपरिवारले व्यावसायिक सुन्तलाखेती गरेका छन् । यो वर्षमात्र बाँसखर्कबाट रु १८ करोड ४६ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको वडाध्यक्ष जगबहादुुर रोकाले बताए।

देशका अन्य ठाउँको बगैँचा निख्रिएपछि बाँसखर्कको सुन्तला टिपेर बजार पठाउने गरिन्छ । एक जना किसानले वार्षिक रु पाँच लाखदेखि रु ४५ लाखसम्मको सुन्तला बिक्री गर्छन् । सडक सहज हुने होभने सुन्तलालाई सुरक्षित र सहज रूपमा बजारमा पठाउन सकिने, ढुवानीको खर्च घट्ने, यात्राअवधि एक घण्टाबाट १५ मिनेटमा छोटिने वडाध्यक्ष रोकाले बताए ।

Leave A Reply

Your email address will not be published.