पोखरा/
चन्द्रमासको चौधौँ रात वा औँसीभन्दा एकदिन अगाडिको रातलाई शिवरात्रि भनिन्छ । एक वर्षमा १२-१३ शिवरात्रिहरू पर्छन्, जसमध्ये फाल्गुण कृष्ण चतुर्दशीका दिनमा पर्ने शिवरात्रिलाई महाशिवरात्रि भनिन्छ । यस वर्ष महाशिवरात्री फाल्गुण १४ गते परेको छ । काठमाडौंको बसुन्धरास्थित सद्गुरु सन्निधि, लिङ्ग भैरवी देवी मन्दिरमा पनि यो रात भव्य रुपमा मनाइँदैछ । यस शुभ अवसरमा भक्तालुहरुले सद्गुरुद्वारा शक्तिशाली रूपमा उर्जा भरिएका रुद्राक्ष ग्रहण गर्ने अवसर पनि पाउनेछन्। साथै, भक्तालुहरुलाई अन्नदान (भोजन) अर्पण गरिनेछ ।

आध्यात्मिक दृष्टिले सबैभन्दा बढी महत्त्वपूर्ण मानिएको यस अवसरलाई सहजै उपलब्ध गराउनका निम्ती यसपाली, बसुन्धरास्थित लिङ्ग भैरवी देवी मन्दिर परिसरमा, आदियोगी महादेवको उपस्थितिमा महाशिवरात्रि मनाइँदैछ । साँझ ६:१५ देखि बिहान ६:१५ सम्म देवीको प्रांगणमा मनाइने यस विशेष रातले स्वाभाविक रूपमा विशाल आध्यात्मिक सम्भावनाहरू खुला गरिदिन्छ । रातभरि चल्ने यस उल्लासमय उत्सवमा कोयंबतूरस्थित ईशा योग केन्द्रमा सद्गुरुको उपस्थितिमा हुने विशेष कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिनेछ जहाँ सद्गुरु मार्फत शक्तिशाली ध्यान प्रक्रियाहरू हुनेछ साथै प्रसिद्ध कलाकारहरूद्वारा भव्य साङ्गितिक प्रस्तुतिहरू दिइनेछ । सद्गुरुले यसपाली पहिलो पटक मध्यरातमा महामन्त्र ॐ नमः शिवाय महामन्त्रको दीक्षा अर्पण गर्नुहुनेछ ।
आध्यात्मिक जागरणको यो उत्सव सबैका लागि खुला छ । यस उत्सवमा सहभागी हुने हरेक भक्तालुलाई सद्गुरुद्वारा शक्तिशाली रूपमा ऊर्जा भरिएका रुद्राक्ष दिइनेछ । शिवको कृपाप्रति ग्रहणशीलता बढाउने र आफ्नो घरमा शिवको कृपा भित्र्याउने यो एक अनुपम अवसर हो । साथै, ईशा स्वयंसेवकहरूद्वारा उपस्थित भक्तालुहरुलाई अन्नदान (भोजन) अर्पण गरिनेछ । यस विशेष अवसरमा लिङ्ग भैरवी देवी मन्दिर रातभर खुला रहनेछ ।
नेपाल शिवको पवित्र भूमि हो जहाँ विश्वभरकै विभिन्न उल्लेखनीय शिव मन्दिरहरू रहेका छन्, पशुपतिनाथदेखि हलेशी महादेव, डोलेश्वर महादेव र अन्य । र, अहिले ७ फिट अग्लो आदियोगी महादेव चेन्नईबाट करिब २,५०० किलोमिटरको यात्रा गरी काठमाडौं आइपुगेका छन् । उनको आगमनमा काठमाडौंमा आदियोगी महादेवको रथयात्रा फाल्गुण ६ गतेदेखि सुरु भएको छ । हरेक दिन ईशा स्वयंसेवक र आदियोगी महादेवका भक्तहरू रथसँगै काठमाडौं उपत्यकाका विभिन्न स्थानहरु भ्रमण गरिरहेका छन् जसमा सूर्यबिनायक, डोलेश्वर, चाँगुनारायण, भक्तपुर, दक्षिणकाली, पाटन, पशुपतिनाथ, स्वयंभूनाथ लगायत अन्य स्थानहरु रहेका छन् । सो रथ यात्रा महाशिवरात्रिको अघिल्लो दिन सद्गुरु सन्निधि, लिङ्ग भैरवी देवी मन्दिर, बसुन्धरामा समापन हुनेछ ।