काठमाडौं/
नागरिकको गुनासो सुन्ने ‘हेलो सरकारमा’ शान्तिसुरक्षा सम्बन्धी गुनासा धेरै आउने गरेका छन् ।
हत्या हिंसा, सीमा अपराध, ठगी, भन्सार छली, अनलाइन ठगी, सामाजिक सञ्जाल दुरुपयोगजस्ता गुनासा धेरै आउने गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता प्रेम प्रसाद आचार्यले जानकारी दिनुभयो ।
यसैगरी सार्वजनिक सेवा प्रवाह सम्बन्धी नागरिक एप, विद्युत आपूर्ति, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति प्रणाली, सडक पूर्वाधार निर्माण र शिक्षासँग जोडिएका गुनासा पनि धेरै आउने गरेको कार्यालयको तथ्याङ्क छ ।
सामान्य सेवा प्रवाहसम्वन्धी गुनासा तत्काल समाधान गर्ने गरिए पनि न्यायिक निरुपणका उजुरीहरु समाधान हुन भने समय लाग्ने गरेको प्रवक्ता आचार्यले बताउनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको हेलो सरकार कक्षमा गुनासा प्राप्त भएपछि समाधानका लागि सम्बन्धित कार्यालयमा पठाइने गरिन्छ । हेलो सरकारमा दर्ता भएका ५७ हजार आठ सय गुनासामध्ये ३५ हजार चार सय गुनासा समाधान भएको कार्यालयको तथ्याङ्क छ ।
१० हजार दुई सय गुनासा अनुसन्धानको प्रक्रियामा गएको छ भने नौ हजार चार सय गुनासा सम्बन्धित निकायबाट हेरिए पनि कार्य प्रक्रियामा नगएको अवस्था छ । दुई हजार सात सय गुनासा समाधानका लागि हेलो सरकारले पठाए पनि सम्बन्धित निकायबाट हेरिएको छैन ।
प्राविधिक र जनशक्ति अभाव, सचेतनाको कमी, सरकारी निकायबीचको समन्वय अभावले प्रभावकारी रुपमा गुनासो समाधान हुन नसकेको कार्यालयले जनाएको छ । तर हेलो सरकार प्रणालीले नागरिकका गुनासो सरकारसम्म पुर्याउन सजिलो बनाएको कार्यालयको भनाइ छ । यसबाट सरकारप्रति नागरिको विश्वास बढेको कार्यालयका प्रवक्ता आचार्यले दाबी गर्नुभएको छ ।
हेलो सरकारमा टोलफ्री नम्बर ११११ मा फोनमार्फत, [email protected] मा ईमेलमार्फत, हेलो सरकारको वेबसाईट gunaso.opmcm.gov.np मा फारम भरेर, ९८५११४५०४५ नम्बरमा ह्वाट्सप वा भाईबर मार्फत, फेसबुक, ट्वीटर, र निवेदकर्ता स्वयम उपस्थित भएर पनि गुनासो टिपाउन सकिने व्यवस्था छ । सरकारले १३ वर्षअघि २०६८ सालमा हेलो सरकारको स्थापना गरेको हो ।