कास्की : जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्य तथा वडा प्रहरी कार्यालय बैदामको आयोजनामा “पीडित पुनः भेटघाट कार्यक्रम” सम्पन्न गरेको छ।
गत मिति फागुन २३ कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलिया र वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाको नेतृत्वमा प्रहरी टोलीले विभिन्न कसूर तथा अपराधका पीडितहरूसँग प्रत्यक्ष भेटघाट गर्दै आवश्यक परामर्श तथा सहयोग प्रदान गरेका हुन्।
ओलियाका अनुसार बैदाम क्षेत्र अन्तर्गत घरेलु हिंसा, कुटपिट, चोरी तथा आपराधिक लाभ जस्ता घटनाबाट पीडित चार जना व्यक्तिहरूसँग भेटघाट गरी उनीहरूको हालको अवस्था बुझ्ने काम भएको जानकारी दिए।
‘व्यक्तिगत सुरक्षाका उपायबारे जानकारी गराउने, सम्भावित दबाब तथा डरबाट सुरक्षित रहन आवश्यक निर्देशन दिने तथा अपराध पीडित संरक्षण ऐन अन्तर्गत प्राप्त हुने कानुनी अधिकारहरूबारे विस्तृत जानकारी प्रदान गरिएको हो’, उनले भने।
कार्यक्रमले प्रहरी र समुदायबीचको समन्वयलाई सशक्त बनाउँदै अपराधपीडितहरूको मनोबल उच्च बनाउने तथा उनीहरूलाई आवश्यक न्यायिक प्रक्रिया र सुरक्षाका उपायहरूबारे सुसूचित गर्ने उद्देश्य राखिएको बैदाम प्रहरी प्रमुख निरौलाले बताए।
‘स्थानीय तह, सरोकारवाला निकायहरू र सुरक्षा संयन्त्रबीचको सहकार्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ’, उनले भने।