कास्की : पोखरास्थित वडा प्रहरी कार्यालय बैदाम, कास्कीको आयोजना तथा कास्की मोटरसाइकल वर्कसप एसोसिएसन पोखराको सहकार्यमा “वर्कसप तथा रिकण्डिसन व्यवसाय संचालक तथा कर्मचारीहरुसँग छलफल, अन्तरक्रिया एवम् सचेतनामूलक स्टिकर टाँस कार्यक्रम” सम्पन्न भएको छ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलियाज्यूको प्रमुख आतिथ्यता तथा पोखरा महानगरपालिका-८ का वडा अध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौला, कास्की मोटरसाइकल वर्कसप एसोसिएसन पोखराका अध्यक्ष अर्जुन सुवेदी तथा विभिन्न वर्कसप संचालक र कर्मचारीहरूको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा विना इजाजत मोटरसाइकलहरू मोडिफाइड गरी चर्को आवाजमा ध्वनी प्रदूषण गर्ने कार्य नगर्ने, रिकण्डिसन मोटरसाइकलहरू किनबेच गर्दा यातायात कार्यालयबाट नामसारी गरेर मात्र किनबेच गर्ने र कास्की जिल्लालाई ध्वनी प्रदूषणमुक्त बनाउन सबैको सहयोग हुनुपर्ने लगायतका विषयमा छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम गरिएको निरौलाले जानकारी दिए।
यसै क्रममा, जिल्ला प्रहरी प्रमुख श्याम बाबु ओलियाको उपस्थितिमा वडा प्रहरी कार्यालय बैदामले अन्नपूर्ण केबल कारसँग सहकार्य गरी तयार गरिएको सचेतनामूलक स्टिकर प्रत्येक वर्कसप, ग्यारेज, रिकण्डिसन हाउसहरूमा टाँस्ने कार्यको शुभारम्भ गरिएको थियो।
यस अभियानले ट्राफिक नियमको पालना गर्न र सवारी साधनमा हुने अवैध हेरफेर नियन्त्रण गर्न थप मद्दत गर्ने निरौलाले बताए।