सुचना, समाचार र मनोरन्जन

प्रतिनिधिसभा बैठकमा आज प्रचण्डले सम्बोधन गर्ने

काठमाडौँ/

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ः०० बजे बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्नेछन्।

यसैगरी बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

आजको बैठकमा सो संशोधनमाथि छलफल पनि हुने सचिवालयले जनाएको छ । वनमन्त्री ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि सभासमक्ष प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने छन् ।
सोमबार प्रमुख सचेतकहरूको बैठकमा मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले बोल्ने समयबारे छलफल भएको थियो । सोही अनुसार समय निर्धारण गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.