काठमाडौँ/
चीनसँग सीमा जोडिएको उत्तरी क्षेत्रमा सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । चीनसँग नेपालको १४ जिल्लाको भौगोलिक सिमाना जोडिएको छ । नेपाल–चिन सिमाना जोडिएका ४ वटा जिल्लामा अध्यागमन कार्यालय छ ।
रसुवा जिल्लास्थित रसुवागढी, मुस्ताङको कोरला, हुम्लाको हिल्सा र सिन्धुपाल्चोक स्थित तातोपानीमा अध्यागमन कार्यालय सञ्चालन गरिएको छ ।
दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय खोल्ने तयारी भइरहेको छ । अध्यागमन विभागका महानिर्देशक गोविन्द प्रसाद रिजाल भन्छन्, ‘तिंकरमा अध्यागमन कार्यालय खोल्दै छौँ ।’
अध्यागमन कार्यालयहरूले नेपालबाट चीनतर्फ आउजाउ गर्न ‘ट्राभल पास’ जारी गर्ने गरेका छन् । एक पटक पास लिएर एक वर्षसम्म आवतजावत गर्न सकिन्छ ।
तिब्बतको सीमा क्षेत्रमा पर्ने कोरला लगायतका १० ठाउँमा सशस्त्र प्रहरीले बीओपी (बोर्डर आउट पोष्ट) स्थापना गरेको छ । तिब्बत तर्फबाट शरणार्थी प्रवेश गर्नसक्ने आशंकामा सशस्त्र प्रहरी बलको बीओपीहरूले सुरक्षा कडाइ गरेका छन् ।