सुचना, समाचार र मनोरन्जन

दोस्रो हप्तामा ‘अञ्जिला’ प्रदर्शन : कस्तो छ व्यापार?

काठमाडौं :

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘अञ्जिला’ हेर्न दोस्रो शनिवार दर्शकको भिड उस्तै छ। नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्मले दर्शक हलमा तानिरहेको छ। सुरुवातमा कम शो पाएको यो फिल्मलाई हलले २०० शो सम्म पुर्याएको देखिन्छ।

निर्देशक मिलन चाम्सका अनुसार,पहिलो शनिवारको तुलनामा दोस्रो शनिवारको व्यापार झन्डै दोब्बर भएको छ। देशभरका हलहरूमा दर्शकहरूको उत्साहजनक सहभागिता हेर्दा यस फिल्मको लोकप्रियता दिनानुदिन अत्यधिक बढ्दै गएको प्रस्ट भएको छ।

शनिवार निर्देशक चाम्स, निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठ, सह–निर्माता विनोद अग्रवाल र एन्जिलाको आमाको भूमिकामा अभिनय गरी व्यापक प्रशंसा पाइरहेकी सिर्जना सुब्बासहितको टोलीले काठमाडौंका विभिन्न हलहरूमा दर्शकसँग साक्षात्कार गरेका छन्। काठमाडौंको अष्टनारायण हलमा एक हजार सिट क्षमताको हलमा दिनभर हाउसफुल भएको थियो भने देशभरका सबै शोहरू हाउसफुल भएका छन्।

निर्देशक चाम्सले भने,‘फिल्म निर्देशनको मेरो करियरमा यति धेरै खुसी कहिल्यै भएको थिइनँ। ‘अञ्जिला’लाई दर्शकहरूले यति धेरै माया गर्नुहुन्छ भन्ने मैले कल्पना गरेको थिइनँ। पहिलो दिनदेखि नै राम्रो प्रतिक्रिया सहित उत्साहजनक व्यापार भइरहेको भए पनि दोस्रो हप्ताको शनिवारको शो सङ्ख्या र बम्पर व्यापारले उत्साहित बनाएको छ । चलचित्र हेरेर दर्शकहरू भावुक हुनुभएको छ, र यो चलचित्रले उनीहरूलाई प्रेरित गरिरहेको देख्दा हाम्रो टिमको मेहनत सार्थक भएको अनुभूति भइरहेको छ।’

चाम्सले दर्शकको लहर छिट्टै रोकिने सम्भावना नरहेको उनले बताए। टिकटक, फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालहरूमा पनि ‘अञ्जिला’को व्यापक प्रशंसा भइरहेको छ, जसले फिल्मको लोकप्रियतालाई अझ बढाइरहेको छ। प्रेमकुमार श्रेष्ठले निर्माण गरेको यो फिल्ममा शीर्ष भूमिकामा एन्जिला आफैले अभिनय गरेकी छन्। उनका अलवा यो फिल्ममा माओत्से गुरुङ,दयाहाङ राई,सिर्जना सुब्बा,बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरूले अभिनय गरेका छन्।

Leave A Reply

Your email address will not be published.