सुचना, समाचार र मनोरन्जन

संसदका दुबै सदनको बैठक आज बस्दै

काठमाडौं/

प्रतिनिधि सभा र राष्ट्रिय सभा (संघीय संसद)को बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा एक बजे बस्न लागेको हो ।

प्रतिनिधि सभाको बैठकबाट ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गर्ने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यसअघि पटक–पटक कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत यो विधेयक अगाडि नबढेको भनेर विषय उठ्दै आएको थियो । लामो समयसम्म सभामा रोकिएको भनेर आलोचना समेत भएको पृष्ठभूमिमा यो विधेयक अगाडि बढाउन लागिएको हो ।

त्यसअघि व्यवस्थापन कार्यतर्फ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन)विधेयक २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यसैगरी बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक पनि टेबुल गरिने छ ।

राष्ट्रिय सभामा प्रश्नोत्तर

राष्ट्रिय सभाको बैठकमा भने भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्ने सम्भावित कार्यसूची पनि छ ।

साथै विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।

Leave A Reply

Your email address will not be published.