काठमाडौँ :
शुक्रबार ग्रिसबाट केही दिनका लागि काठमाडौँ आएकी फिल्म ‘अञ्जिला’ की अभिनेत्री तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले आफ्नो फिल्म हेर्दै आफै रुने चाहाना राखेकी छन्। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै दर्शकले आफ्नो फिल्म हेरेर दर्शक रोएपछि आफु नेपाल आउनु परेको बताईन।
पत्रकारसँगको कुराकानीमा उनले भनिन्,‘समाचारमा फिल्म हेर्दै दर्शक रोएको देख्दा म निकै भावुक हुन्थेँ ।’
यो फिल्म चल्दा नेपालमा नहुँदा नमिठो अनुभव बटुलेकी उनले आफ्नो फिल्म आमासँगै बसेर हेर्ने चाहाना रहेको बताइन्। उनले भनिन् ,‘आमाले फिल्मका बाहिर आएको छोटो क्लिप हेर्दै रुन आयो छोरी । फिल्म हेर्न सक्दिन भनेर जान सकेकी छैन भन्नु भयो । अब आमाछोरीसँगै हेर्छौँ । आमासँगै फिल्म हेर्ने हो । रुन आए आमाछोरी सँगै रुने हो ।’
विमान स्थलमा एन्जिलालाई स्वागत गर्न फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठ,निर्देशक मिलन चाम्स लगायतको टिम पुगेको थियो। एन्जिलाको शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक भेट्नेछिन्। आइतबारदेखि भने पूर्वी तथा पश्चिम नेपालका हलहरूमा पुग्नेछिन्। फिल्ममा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ।