सुचना, समाचार र मनोरन्जन

पोखराको लेकसाइडमा बुटिक होटल ‘टेम्पल बेल’ संचालनमा

पोखरा/

पोखराको लेकसाइडस्थित स्ट्रिट नम्बर १७ मा ‘टेम्पल बेल’ बुटिक होटेल एन्ड स्पा सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होटल निर्माण गरी सोमबारबाट होटल संचालनमा ल्याएको हो ।

होटलको संरचना नेपाली काष्ठकला, ढुंगा, ढाका, थान्का, झुमर तथा पेन्टिङले सजाइएका देख्न सकिन्छ । आकर्षक शैलीमा सजाइएको कोठा, करिडोर र खुला क्षेत्रले आगन्तुकलाई आत्मीयता र मौलिकता प्रदान गर्ने विश्वास उनले व्यक्त गरे । सन् २०२१ डिसेम्बरमा सुरु गरिएको होटल निर्माण कोभिड महामारीको चुनौतीबीच साढे ३ वर्षमा सम्पन्न भएको हो । करिब साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको यो होटलको कुल लागत (जग्गासहित) करिब १ अर्ब २५ करोड रुपैयाँ रहेको जानकारी प्रबन्ध निर्देशक भीष्मराज पौडेलले दिए ।

होटलमा रिसेप्सन, आकर्षक लबी, दुईवटा ज्याकुजीसहितको स्वीमिङ पुल, ‘बुद्ध सदन’ नामक सम्मेलन हल, स्टीम, साउना, थेरापी रुम सहितको अत्याधुनिक स्पा, ‘यती एन्ड यती’ नामक बार, ‘आंटी’ नामक आलाकार्ट रेस्टुरेन्ट, बेसमेन्ट पार्किङ र दुईवटा आधुनिक लिफ्टको सुविधा उपलब्ध छ ।

होटलले ‘सफ्ट ओपनिङ’ गरेको छ । वैशाख महिनाभित्र होटलको ‘ग्रान्ड ओपनिङ’ गर्ने योजनासमेत सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै स्वदेशी तथा विदेशी पाहुनाका लागि विशेष छुट र अफर प्रस्तुत गरिएको पनि प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए । स्वदेशी पाहुनाका लागि सिंगल र डबल रुम क्रमशः ७ हजार ५०० र ८ हजार ५०० रुपैयाँमा, विदेशी पाहुनाका लागि १२ हजार र १४ हजार रुपैयाँमा उपलब्ध छन् । स्वीट रुम स्वदेशी पाहुनाका लागि ३५ हजार रुपैयाँ र विदेशीका लागि ४८ हजार रुपैयाँमा उपलब्ध छन् । प्याकेजमा फ्री एक्सक्लुसिभ ब्रेकफास्ट, स्टीम, साउना, एयरपोर्ट पिकअप र ड्रपको सुविधा र स्पा सर्भिसमा ३० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।

टेम्पल बेल बुटिक होटेल एन्ड स्पा पोखरामा आउने मिडिल र हाइ–एन्ड सेग्मेन्टका पर्यटकहरूका लागि लक्षित गरिएको हो । पोखराको सांस्कृतिक विविधता, साहसिक गतिविधि र शान्त वातावरणका बीचमा विश्वस्तरीय सेवा दिन सक्ने विश्वास होटल व्यवस्थापनको छ । होटलमा करिब ६० जना दक्ष कर्मचारी कार्यरत रहेको कर्पोरेट म्यानेजर लेखनाथ पहारीले जानकारी दिए । कर्मचारीलाई सेवा, व्यवस्थापन, खाना पकाउने कला र ग्राहक सेवा सम्बन्धी विशेष तालिम दिइएको उनले जनाए ।

होटल सञ्चालकद्वय विश्व र भीष्मकी आमा ज्ञानुदेवी पौडेलले आफ्ना सन्तानले गरिरहेको कामको सराहना गर्दै उज्ज्वल भविष्यको शुभकामना प्रकट गरिन् । होटलका आकर्षक सुविधाहरूले पाहुनाहरूलाई आरामदायी र विलासी अनुभव प्रदान गर्ने लक्ष्य राखिएको होटलकी कर्मचारी आशा गुरुङले बताइन् ।

Leave A Reply

Your email address will not be published.