पोखरा
हरेक ३ सय ६५ दिनमा वर्ष फेरिरहेका छन । भोलिदेखि नयाँ वर्ष लाग्छ भन्दा जिन्दगीले रुप रंग नै फेर्ने होकी जस्तो उत्साह बालापनदेखिनै लाग्ने हो । बाल्यकालदेखि हालसम्म मैले जानेको नयाँ वर्षमा अरु फेरियोस नफेरियोस एक चिज पक्कै फेरिन्छ, त्यो हो भित्ता र टेवलमा रहेको पात्रो ! जिन्दगीले पनि रुपरंग नफेर्ने होईन । तर जिन्दगीले नयाँ वर्षले जस्तो पहिल्यै खबर गरेर पात्रो बदलेर रुपरंग फेर्दैन यसले त अनौठो शैलीमा फेर्छ । कहिले मिठा सपना देखाएर भुतुक्क पारिदिन्छ त कहिले हावाहुरी लिएर आउँछ र बल्लतल्ल समेटेका खुसीहरु छरपस्ट पारीदिन्छ । अनि समेट्छु भन्दाभन्दै एउटा नयाँ वर्ष कसरी वितिजान्छ पत्तै हुदैँन ।
चैत्रको हावाहुरी, पात झरेर टुहुरा देखिएका उराठ लाग्दा रुखहरुका पालुवाका मुना, भर्खर आँकुरा पलाएका पतिङ्गारहरु चराहरुका चिर्विर आवाज र पारिला घामहरुले वैशाखको नयाँ वर्षसंगै बसन्त ऋतुलाई पनि बाहु फैलाएर स्वागत गर्दछन । सबैभन्दा पहिला त नयाँपन प्रकृतिमा देखिन्छ । सफा,सुन्दर,शान्त र हरियाली बातावरण ! नयाँ वर्षमा, हामी पनि के कम ! नयाँ वर्षलाई नयाँपन दिन विभिन्न किसिमका नयाँ योजना बनाउँछौ । नयाँ–नयाँ रेजुलेसन लिन्छौ भलै त्यसलाई निरन्तरता दिन नसकियोस । नयाँ वर्षसंगै हेल्दी जीवनयापन सुरु गर्ने, जीम,योगा, मर्निङ्गवाक,डाइट, धुम्रपान र मध्यपानको त्याग, कामको निरन्तरता, नयाँ कामका योजना यस्तै यस्तै……
केही दिन अभ्यास पनि गरिन्छ त्यस्पछि नयाँ वर्षको रौनकता सेलाउन नपाउँदै हाम्रा योजनाहरु सेलाइ जान्छन । अस्ति मात्र एउटा साथीले भनेको जनवरीमा जिम जान सुरु गर्छु भनेको अप्रिलको आधाउधि हुन लाग्यो गएको छैन रे । हामी मध्य कतिका योजनाले अर्को नयाँ साल पर्खिने हुन कि निरन्तरता पाउँछन त्यो त समयले बताउला । जे होस नयाँ सालले निरन्तरतालाई तोडेर हाम्रा हरेक क्रियाकलापमा नयाँपन जोड्नुपर्छ है भनेर सोच्न बाध्य चाइ गराउने रहेछ ।
वितेका एक वर्षको समिक्षा गरेर सुरु हुँदै गरेको नयाँ वर्ष फगत पात्रो फेर्नको लागि मात्र नभएर उमेरको उपल्लो फड्कोलाई थप परिस्कृत गराउन र फेरिनै नसकेको निरन्तरतामा क्रमभंगता गर्न आवस्यक देखिन्छ । वर्ष फेरिन तीन सय पैसठ्ठी दिन लाग्छ तर हामीले हाम्रा हरेक दिनलाई नयाँ बनाउन सक्छौ । हरेक दिन एउटा नयाँ सोचलाई जन्म दिन सक्छौ । भनिन्छ नि हामीले जस्तो सोच्छौ हाम्रो कर्म पनि त्यस्तै बन्छ । हामी त्यस्तै बन्छौ । यदि त्यस्तो हो भने हरेक दिन हामीले किन सहि नसोच्ने? किन राम्रो भन्दा राम्रो नसोच्ने? किन आफुलाई अलिकति भएपनि परिवर्तन नगर्ने? आदिम कालदेखि नै मानवको विकासक्रम परिवर्तनशिल देखिन्छ । हामी स्वयंलाई हेरौ न, हरेक सेकेन्ड, हरेक मिनेट, दिन, महिना र वर्ष कुनै न कुनै रुपमा केही न केही परिवर्तन भैरहेका छौ । म आफैँ अघिल्लो नयाँ वर्षको जस्तो छैन । नपत्याए तपाई एकपटक आफैलाई पनि हेर्नुस !
नयाँ वर्षले मात्र नभएर हरेक ऋतु र याम परिवर्तन हुदाँ प्रकृति र जीवले पनि आफ्नो स्वरुप परिवर्तन गर्छन । यस अर्थमा वर्ष मात्र हैन प्रकृतिको स्वभाव नै परिवर्तनशिल छ । हरेक चिजले हरेक याममा नयाँपन खोज्छ । नयाँ सालमा हामीमध्ये कतिको काम नयाँ बनेको छ, कतिको ठाउँ नयाँ बनेको छ । कतिका नयाँ साथी बनेका छन । कोहीका साथी छुट्टीएका छन । कसैको जीवनमा रस थपिएको छ, कसैको जिवनबाट रंग उडेको होला । जीवनका यी सबै परिघटना जीवनले स्वरुप बदल्न भएका हुन । जिन्दगीले नयाँ रुप लिन बनेका हुन । जीवनमा नयाँपन थप्नका लागि हुन्छन । नयाँ वर्षले जस्तै जिन्दगीले पनि बेला बेला आफ्नो स्वरुप फेरिरहन्छ र नयाँपन लिएर आउँछन । नयाँ वर्ष २०८२ सालले हजुरहरुको जीवनमा पनि सुखद नयाँपन लिएर आओस् । शुभकामना !