सुचना, समाचार र मनोरन्जन

मनाङमा सार्वजनिक बस सेवा शुरू

मनाङ/

हिमाली जिल्ला मनाङमा हिजोदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन गरिएको हो ।

प्रतिनिधिसभा सदस्य एवम् पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले नियमित बस सेवा सञ्चालनको शुभारम्भ गरे । सांसद गुरुङले सेनाले निर्माण गरेको सडक ट्रयाक द्वन्द्वकालमै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको वर्षैंपछि मनाङमा बस सेवा सञ्चालन भएको बताए ।

गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले मनाङवासीलाई सहज यात्रा गराउने सपना पूरा भएको बताउनुभयो । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्थानीयको सहजताका लागि गाउँपालिकाले नै बस सञ्चालनमा ल्याउने प्रयास गरेको बताए ।

गएको चैत ७ गते पहिलो पटक यात्रुबाहक बस आइपुगेको मनाङमा सहज रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । उनका अनुसार दुईवटा बस नियमित आवतजावत गर्नेछन् ।

अन्नपूर्ण पदयात्राका लागि आउने विदेशी पर्यटकलाई लिएर परीक्षणका लागि सदरमुकाम चामे पुगेर बस फर्किएपछि सञ्चालन गर्न सकिने जानकारी गराइ हिजोदेखि नियमित बस सञ्चालन गरिएको बस सञ्चालक सुरेश घिमिरेले जानकारी दिए।

मनाङमा निर्माणाधीन मनाङ मर्स्याङ्दी जलविद्युतका सामान लिएर १० चक्के ट्रकसमेत पुग्ने गरेका छन् ।

गएको फागुन २५ गते जिल्ला प्रशासन मनाङमा बसेको समन्वयात्मक बैठकले बेंसीशहरबाट चामेसम्म बस सञ्चालन गर्ने निर्णय गरेको थियो । १५ वर्षअघिदेखि मोटर चल्न थालेको यहाँ हालसम्म साना गाडीले मात्र यात्रु बोक्दै आएका थिए ।

बेंसीशहरबाट चामेसम्मको ६५ किलोमिटर सडक पार गर्न अब जीपसँगै बस चढ्न सकिने भएको छ । यो रुटको भाडादर ७४० रुपैयाँ कायम गरिएको छ । यस सडकअन्तर्गत बेंसीशहरदेखि खुदीसम्मको सात किलोमिटर सडक कालोपत्र छ । खुदीभन्दा माथि चामेसम्म ठाउँ–ठाउँमा १० किलोमिटर सडक ढलान गरिएको छ । बाँकी ४७ किलोमिटर कच्ची सडक छ ।

Leave A Reply

Your email address will not be published.