सुचना, समाचार र मनोरन्जन

‘खेल’की अभिनेत्री समापिका गौतमको यात्रा : ‘खेल’ मार्फत सशक्त उपस्थिति, थिएटरदेखि पर्दासम्म

काठमाडौं :

नेपाली सस्पेन्स थ्रिलर फिल्म ‘खेल’प्रदर्शनको समय नजिकिदै छ। यहीँ वैशाख १२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्म अरु भन्दा अलिक भिन्न छ।

निर्माण पक्षका अनुसार फिल्म नेपाली लोककथा, परम्परा, अध्यात्म र थ्रिलरको सम्मिश्रणमा आधारित छ। गाउँमा बसेको एक विद्यार्थीको कथा हो। अध्ययनका लागि काठमाडौंको होस्टेलमा बस्दा भएका घटनाको सेरोफेरोमा फिल्म निर्माण भएको हो। यही फिल्ममार्फत अभिनेत्री समापिका गौतमले ठुलो पर्दामा डेब्यू गरिरहेकी छन्। थिएटरमा अभिनय गर्दै हुर्किएकी समापिका ‘खेल’लाई आफ्नो अभिनय यात्राको महत्त्वपूर्ण मोड मान्छिन्। पर्दामा देखिन पाउनु उनको लागि रोमाञ्चक अनुभव मात्र नभई जीवन उपयोगी शिक्षाले भरिएको पल पनि रह्यो।

मिडियासँगको कुराकानीमा उनी भन्छिन्,‘म पर्दामा धेरै चलचित्र कर्मीहरूलाई देख्दै हुर्किएकी हुँ। अब पर्दामा आफूलाई देख्दा जुन अनुभूति भयो, त्यो शब्दमा भन्न गाह्रो छ।’

थिएटर अभिनयमार्फत कलात्मक आत्मविश्वास बनाएकी समापिकाले आफ्नो अभिनय यात्रालाई सिकाइ र मार्गदर्शनको अवसरका रूपमा हेर्छिन्। थिएटर र फिल्मबीच केही टेक्निकल भिन्नता भए तापनि,उनले दुवै माध्यमलाई समान रूपमा आत्मसात् गरेकी छन्।
उनी भन्छिन,‘मलाई सिकेको कुरा अभिव्यक्त गर्न पाए आत्मसन्तुष्टि मिल्छ।’

फिल्ममा उनले ‘ईसा’ नामकी युवतीको भूमिका निर्वाह गरेकी छन्। जो साथीहरूलाई माया गर्ने,उनीहरूको इच्छा विपरीत जान नसक्ने भावुक पात्र हुन्। उनी भन्छन्,‘हाम्रो केही स्वभाव मिल्छन्, तर केही भिन्नता पर्दामा हेर्न पाइन्छ।’

समापिकाको अभिनय यात्रा एसएलसीपछि थिएटर प्रवेशसँग सुरु भएको हो । परिवारको साथ र प्रेरणाले उनलाई यो क्षेत्रमा डोर्‍यायो । उनले स्कुले दिनहरूमा अभिनय गरेर दर्शक हँसाउने,रुवाउने अवसरहरूबाट नै आफूभित्रको कलाकार पहिचान गरेकी थिइन्। समापिकाको अभिनय यात्राको लक्ष्य केवल पर्दामा देखिनु मात्र होइन। नेपाली सिनेमामा कला चेत निर्माण गर्ने योगदान दिनु हो।

अनुराग प्रधान र आस्था श्रेष्ठद्वारा निर्देशित ‘खेल’ सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण भएको हो। लुइसराज महर्जन र आशिषराज महर्जन निर्माता रहेको यो फिल्ममा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य,मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटाको पनि अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.