पर्सा/
वीरगञ्जमा भारतबाट भन्सार छली गरी ल्याइएका सामान बरामद हुने क्रम बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण मुख्यालयका गणपति राधेश्याम धिमालले एक वर्षको अवधिमा ४१ करोड ९२ लाख ३१ हजार रुपैयाँ बराबरको अवैध तथा शङ्कास्पद मालसामान बरामद गरेको जानकारी दिए।
सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल पर्साले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्ट्स, खाद्यान्न पदार्थ र किरानाका सामान बरामद हुने क्रम बढेको उनको भनाइ छ ।
सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार नाकामा दुई वटा तालिमप्राप्त कुकुर पनि खटाएर जाँच गर्दै आइरहेको छ । सशस्त्र प्रहरी बलले २०८१ वैशाखदेखि २०८२ वैशाख ६ गतेसम्म २८ करोड ११ लाख ६ हजार रुपैयाँ मूल्यका भन्सार छली गरेर भित्र्याइएका सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
त्यसैगरी यही अवधिमा १३ करोड ८१ लाख २५ हजार दुई सय २० रुपैयाँ मूल्यको बिलबिजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ ।