काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अर्बौं भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्ने हिम्मत छ? भन्दै सरकारलाई प्रश्न गरेको छ। आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सांसद गणेश पराजुलीले यस्तो चुनौती दिएका हुन्।
सांसद पराजुलीले उच्चस्तरीय सशक्त न्यायिक समिति बनाएर उक्त भ्रष्टाचार प्रकरणमा मुछिएकाहरूलाई कारबाही गर्न माग पनि गरेका छन्। प्रधानमन्त्रीले भ्रष्टाचार आफू पनि नगर्ने र अरूलाई पनि गर्न दिन्नँ भनेको स्मरण गर्दै उनले आँखामा छारो हाल्ने काम नगर्न भने।
‘२२ अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको विमानस्थलमा १० अर्ब बढी भ्रष्टाचार भएको विषय संसदको लेखा समितिले उजागर गरेको तथ्य बाहिर आएको छ। त्यति मात्रै होइन, प्रधानमन्त्रीज्यू, विमानस्थलमा आवश्यक लम्बाइको धावनमार्ग बन्न सकेन तर धावन मार्गभन्दा लामो भ्रष्टाचारको लिस्ट बनेको भन्दै अन्तर्राष्ट्रिय जगतले सिरिजमा यो विषय बारम्बार उजागर गरिरहेको छ।’
उनले भने, ‘नाकैमुनि भएको भ्रष्टाचारको गन्धले संसार दुर्गन्धित हुँदा पनि भ्रष्टाचा र आफू पनि गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ भन्दै कार्यकर्ताको आँखामा छारो हालिरहने कि उच्चस्तरीय सशक्त न्यायिक समिति गठन गरेर यो परियोजनामा भएको सबै किसिमको भ्रष्टाचार र अनियमितताको छानबिन गरेर भ्रष्टाचारमा जोडिएका सबैलाई कानुनी कठघरामा उभ्याएर विमानस्थल नियमित रूपमा सुचारु गराउने प्रतिबद्धता जाहेर गर्ने हिम्मत छ?’