सुचना, समाचार र मनोरन्जन

पर्वतमा सामुदायिक विद्यालय खुल्न थाले, विद्यालय सञ्चालन गर्न पालिकाहरुको आग्रह

काठमाडौँ/

कुश्मा नगरपालिकाका केही विद्यालय, मोदी गाउँपालिका, फलेवास, महाशिला, जलजलाका विभिन्न विद्यालय खुलेर नियमित पठनपाठन हुन थालेका छन । त्यस्तै पोखरा र ललितपुर महानगरपालिकाले विद्यालय सञ्चालन गर्न आग्रह गरेका छन् । पोखरा महानगरपालिकाले पनि मंगलबारदेखि महानगरभित्रका सामुदायिक विद्यालयमा पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ । उता ललितपुर महानगरपालिकाले पनि सोमबार आजदेखि महानगरक्षेत्रका सबै विद्यालय सञ्चालन गर्न पत्राचार गरेको हो ।

महानगरपालिकाले शिक्षकको सहभागितामा शैक्षिक सत्र–२०८२ को शैक्षिक कार्यपात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको जनाउँदै कार्यपात्रो बमोजिम विद्यार्थी भर्नालगायत शैक्षिक क्रियाकलाप अहिलेसम्म सञ्चालन हुन नसकेकोतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विद्यालय शिक्षा ऐनलगायतका विभिन्न माग राखी शिक्षकहरुले आन्दोलन गर्दा देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।

महानगरपालिकाले हिजो सूचना निकालेर नगर शिक्षा समितिको निर्णयअनुसार भोलिदेखि विद्यालयमा पठनपाठन गराउन सबैमा आग्रह गरेको हो । त्यस्तै शिक्षक महासङ्घले घोषणा गरेको आन्दोलन अनिश्चित बन्दै गएपछि पर्वतमा सामुदायिक विद्यालय खुल्न थालेका छन् ।

सामुदायिक विद्यालय सञ्चालनमा नआउँदा निजी विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढेको र यही अवस्थामा सामुदायिक विद्यालय थप प्रभावित हुने भएपछि विद्यालय व्यवस्थापन समिति र अभिभावकले भर्ना अभियान सञ्चालन र पठनपाठन शुरू गरेका हुन् ।

शिक्षा विकास तथा समन्वय एकाइ पर्वतका अनुसार विभिन्न स्थानीय तहले विद्यालय खोलेर भर्ना अभियानका साथै पठनपाठन शुरू गरेका छन् । यसअघि पनि विभिन्न पालिकाले सूचना निकलेर विद्यालय सञ्चालन गर्न शिक्षकहरुलाई अनुरोध गरेका थिए ।

Leave A Reply

Your email address will not be published.