काठमाडौँ :
निर्देशक दीपेन्द्र के खनालले आफ्नो नयाँ फिल्म ‘श्रीमान् श्रीमती’को छायांकन तीन हप्तामै पूरा भएको छ। काठमाडौँका विभिन्न स्थानमा लगातार तीन हप्तासम्म गरिएको छायांकन गीतको दृश्यसँगै सफलतापूर्वक सम्पन्न भएको हो।
पटकथा प्रडक्सन र टुकी आर्ट्सको संयुक्त प्रस्तुति रहेको यस फिल्मलाई पूर्ण पारिवारिक कथावस्तुमा निर्माण गरिएको निर्देशक खनालले बताए। उनका अनुसार यस फिल्मको मुख्य भूमिकामा खगेन्द्र लामिछाने र सुरक्षा पन्त देखिँदै छन् भने साथमा लक्ष्मी गिरी र सुवास गजुरेलको पनि अभिनय रहेको छ। फिल्मको निर्माण खगेन्द्र लामिछाने र दीपेन्द्र के खनालले संयुक्त रूपमा गरेका हुन्। गम्भीर कथावस्तु उठाउन रुचाउने निर्देशक खनाल स्वयंको लेखन रहेको यस फिल्मको पटकथा तथा संवाद दीपेन्द्र के खनाल र महेश दवाडीले मिलेर तयार पारेका छन्।
करण श्रेष्ठ कार्यकारी निर्माता रहेको यस फिल्ममा कृष्ण थापाले खिचेका हुन्। निर्देशक खनालका अनुसार आम नेपालीको घरपरिवारमा दिनदिनै घट्ने घटनाक्रम र श्रीमान्(श्रीमतीको सम्बन्धमा आउने उतारचढावलाई फिल्मको मुख्य विषय बनाइएको छ। आम दर्शकको जीवनसँग नजिक रहेको कथा भएकाले चलचित्र सबैको रोजाइमा पर्नेमा निर्माण पक्ष विश्वस्त छ। यद्यपि, निर्माण टिमले फिल्मको प्रदर्शन मिति भने अझै सार्वजनिक गरेको छैन। निर्देशक दीपेन्द्रको निर्देशकिय फिल्म ‘मेयर’ र ‘क्याप्टेन साब’अलरेडी सुटिङ सकेर दर्शनको तयारीमा छ।