काठमाडौं :
नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक भएको छ। हलमा फिल्म लागेको २ दिनपछि निर्माण पक्षले फिल्ममा समावेश गीत रिलिज गरेको हो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार एलेक्स पारस र अभिनेत्री परीक्षा लिम्बूलाई नचाइएको छ।
यस गीतमा ‘दर्पण छायाँ’ जोडी दीलिप रायमाझी र निरुता सिंहको झल्को दिलाउँछ। यस गीतको कोरियोग्राफी रोशन बिकले गरेका छन्। सार्वजनिक गीतमा सुजन चापागाईँ र सलिना विकको स्वर रहेको छ भने संगीत चापागाईँले नै तयार पारेका हुन्। हर्क साउदको शब्द,गीतको एरेन्ज कुशल सिंह र विकेश बज्रले मिलेर गरेका हुन्।
अन्तरजातीय प्रेमकथामा आधारित भएर बनेको फिल्ममा एलेक्स र परीक्षासहित विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ। फिल्म हेरेका दर्शकले कथावस्तु, प्रस्तुति, अभिनय, संगीत जस्ता पक्ष निकै रुचाएका छन्।