काठमाडौं :
फिल्म ‘महाभोज’ सहकारी संस्थामार्फत ठगिएका सर्वसाधारणहरूको कथामा आधारित हो। यस फिल्ममा अभिनेता प्रमुख अभिनेता दयाहाङ राईले फिल्मको कथाबारे थोरै खुलाएका छन् उनका अनुसार यो फिल्मले आर्थिक क्रान्तिको सुन्दर सपना बोकेर स्थापना गरिएका सहकारी संस्थाहरू कसरी भ्रष्ट नियत र व्यक्तिवादी स्वार्थको चपेटामा परे भन्ने कथाले भन्छ।
दयाहाङ भन्छन्,‘नेपालमा आर्थिक क्रान्ति ल्याउनको लागि सहकारी संस्थाहरूको स्थापना सुन्दर अभ्यास थियो। तर ती संस्थाको पहुँचमा रहेका व्यक्तिले सर्वसाधारणको पैसा अपचलन गर्दै आएका छन्। जुन समस्या अहिलेको मात्र होइन, धेरै पहिले देखिको हो।’
यो फिल्म एउटा कथानक नभएको यो प्रश्न भएको बताए।
‘‘महाभोज’ केवल कथानक होइन, त्यो एक प्रश्न हो’,उनले थपे,‘यस्तो किन भइरहेको छ? कसको महत्त्वाकाङ्क्षाले यस्तो हुन्छ? यी सबै प्रश्नहरूको उत्तर चलचित्रले खोजेको छ।’
उनी यो फिल्मले विशिष्ठ प्रतिशत जनतालाई मात्र नभई संसारभर रहेका नेपालीहरूलाई छुने विश्वास व्यक्त गरे। उनी भन्छन्,‘मैले यति प्रतिशत भन्दिनँ तर ‘महाभोज’ले हरेक नेपालीलाई छोइहाल्छ। यो आम जनताको कथा हो।’
यस फिल्मको कथा सहकारी संस्थाका नाममा सर्वसाधारणले जम्मा गरेको रकम अपचलन गर्नेहरू र त्यसबाट सिर्जना भएको वर्ग सङ्घर्ष, पारिवारिक, सामाजिक तथा नैतिक सङ्कटको वरिपरि घुम्छ। फिल्मले आर्थिक शोषणमाथिको सवाल मात्र होइन, नेपाली समाजमा पैसाको शक्ति र त्यसले जन्माउने विभाजनलाई समेत प्रश्न गर्छ।
फिल्मलाई दिनेश राउतले निर्देशन गरेका छन् भने हिमाल कडरिया निर्माता हुन्। कथा तथा पटकथा सुवेदीले लेखेका छन्। क्लक वर्क क्रियशन र पिक्चर फ्रेम को संयुक्त ब्यानरमा बनेको ‘महाभोज’एकै दिन नेपालसहित विदेशका विभिन्न देशमा प्रदर्शनमा आउने तयारीमा छ।
यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहजस्ता कलाकारको अभिनय हेर्न पाइनेछ। ‘महाभोज’ नेपाली समाजको यथार्थलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने प्रयास हो, जसले सहकारी पीडितहरूको आवाजलाई पर्दामा उजागर गर्दैछ ।