काठमाडौं : नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश ठूलो संकटतर्फ धकेलिरहेको भन्दै संरचना सहितको क्रमभंगता नगरे संकट रोक्न नसकिने बताएका छन्।
राष्ट्रिय सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले संकटबाट बचाउन सबै राजनीतिक दलका नेताहरुले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए। उनले देशलाई अग्रगामी निकास कुनैपनि विषय विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा नपरेको आरोप लगाए। उनले देशलाई समृद्धिको दिशामा लैजान क्रमभंग हुने गरी कुनै विषय नसमेटिएको बताए। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता यथास्थितिवादको निरन्तरता भएको उहाँको भनाइ छ। उनले देश वृद्ध नेपाल दुःखी नेपालको दिशामा गइरहेको बताए।
उपाध्यक्ष श्रेष्ठले वर्तमान शासन प्रणाली दलाल र भ्रष्टाचारीलाई प्रोत्साहन गर्ने खालको भएको बताए। उनले वर्तमान व्यवस्थामा विधिको शासन नभएको बताए।
भ्रष्टाचारमा नियन्त्रण र भ्रष्टाचारीलाई कारबाही गर्न वर्तमान सरकारले नसकेको उहाँको भनाइ छ। उनले अहिलेका निर्वाचन प्रणाली महँगो र भ्रष्टिकृत भएकाले निर्वाचना प्रणाली फेरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जानुपर्ने बताए। उनले निर्वाचन प्रणालीभन्दा बाहिरबाट मन्त्री नियुक्त गर्नुपर्ने र सांसदहरु कानून निर्माणमा मात्रै सहभागी बन्ने गरी व्यवस्था गर्नुपर्ने बताए।
उपाध्यक्ष श्रेष्ठले सूचना प्रविधिको विकासले देखा परेका नयाँ सम्भावनालाई प्रयोग गर्नका लागि शिक्षा दशक घोषणा गरी शिक्षामा गुणात्मक लगानी गर्नुपर्नेमा जोड दिए।