सुचना, समाचार र मनोरन्जन

सशस्त्र प्रहरी बलले मनसुन पूर्व तयारी थाल्यो

काठमाडौँ,

सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् न्यूनिकरण तथा उद्वारका लागि आफ्नो तयारी थालेको छ । यसका लागि देशभरी नै विपद् जनचेतना रेस्पोन्स पट्रोल शुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

जसअनुसार टोलटोलमा विपद् सूचक राख्ने, सशस्त्र प्रहरीका सबै युनिटमा विपद् व्यवस्थापनका आधारभूत सामानको व्यवस्थापन गर्ने, विपद् सम्बन्धि अनुशिक्षण तथा अभ्यास संचालन गर्ने तय भएको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

अघिल्ला वर्षहरुमा भएको विपद्का घटनाहरुलाई विश्लेषण गर्दै आगामी दिनमा हुनसक्ने जोखिम न्यूनिकरणका लागि अवलम्वन गर्नुपर्ने उपायका बारेमा मंगलबार प्रधान कार्यालय हलचोकमा छलफल समेत भएको थियो । उपत्यकाका सबै युनिट कमाण्डर तथा फिल्डमा खटिने सिनियर, जुनियर अधिकृत तथा अन्य दर्जा समेतको सहभागितामा छलफल गर्दै फिल्डमा खटिँदा भोगेका अनुभव र समस्या तथा नयाँ रणनीतिको बारेमा पनि छलफल गरिएको छ । विपद् सूचक अन्तर्गत आफ्ना पूर्व कर्मचारी समेत यसमा सहभागी गराउँदै वडा–वडामा सचेतना मूलक कार्यक्रम गर्ने उनको भनाइ छ ।

यसबाट विपद्को बारेमा तत्काल सूचना प्राप्त गर्न सकिएमा छिटो भन्दा छिटो उद्वारका कार्यमा खटिन सक्ने विश्लेषण गरिएको छ । यसकासाथै अब प्रत्येक दर्जाको आधारभूत तालिममा अनिवार्य रुपमा १५ दिनको विपद् व्यवस्थापन तालिम संचालन गरिने लक्ष्य समेत सशस्त्र प्रहरी बलको छ । सशस्त्र प्रहरीका युनिटमध्ये विपद् व्यवस्थापन साधनश्रोत सम्पन्न कम साधनश्रोत भएका र नभएका गरी ३ तहमा विभाजन गरेर साधनश्रोत नभएका युनिटमा तत्काल आधारभूत सामाग्री व्यवस्थापन गरिने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.