सुचना, समाचार र मनोरन्जन

देशभरका पालिकाहरुमा सबैभन्दा बढी वेरुजु पोखरा महानगरमा

पोखरा,

महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनमा ७५३ स्थानीय तहहरूमध्येबाट महानगरमध्ये सबैभन्दा बढी बेरुजुमा पोखरा परेको छ । यसको १३ अर्ब ४६ करोड ७२ लाख लेखापरीक्षण गरिएकोमा ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको हो, जुन ३.७४ प्रतिशत हो। प्रतिशतको हिसाबले हेर्दा पोखरामा धेरै बेरूजु देखिएको हो ।

यस वर्ष भने सबैभन्दा कम बेरुजु हुनेमा विराटनगर महानगरपालिका छ। विराटनगर महानगरको गत आर्थिक वर्ष २०८०–८१ मा ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखा परीक्षण भएको थियो। जसमध्ये २ करोड ८ लाख ५७ हजार बेरुजु थियो। जुन ०.३२ प्रतिशतमात्र हो।

महानगरमध्ये दोस्रोमा ललितपुर महानगरको कम बेरुजु छ। ललितपुरको बेरुजु १० अर्ब ६८ करोड ९७ लाख लेखापरीक्षण गर्दा ५ करोड ५५ लाख बेरुजु देखिएको छ। जुन ०.५२ प्रतिशत हो।

तेस्रोमा चितवन भरतपुर महानगरपालिकामा ११ अर्ब १३ करोड ३ लाख रुपैयाँको लेखा परीक्षण गर्दा १० करोड २ लाख बेरुजु देखिएको छ। जुन ०.९० प्रतिशत हो।

काठमाडौं महानगरपालिका चौथोमा छ। देशकै धेरै बजेट खेलाउने काठमाडौं महानगरको २७ अर्ब ५२ करोड ४४ लाख रुपैयाँको लेखापरीक्षण गर्दा ६८ करोड २ लाख बेरुजु देखिएको हो। जुन २.४७ प्रतिशत बेरुजु हो।

पोखरा पछि पर्साको वीरगञ्ज महानगरपालिकामा ६ अर्ब २८ करोड १६ लाख लेखा परीक्षण गर्दा २२ करोड ७५ लाख बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा छ। जुन ३.६२ प्रतिशत हो।

देशभरमा ७ सय ५३ स्थानीयतहसहित ७ सय ६१ सरकार छन्। सबैको बेरुजुको चाङ छ। तर, एउटा यस्तो स्थानीय तह छ जसको बेरुजु शून्य छ। त्यो हो काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका। जसको बेरुजु एक रुपैयाँ पनि छैन।

Leave A Reply

Your email address will not be published.