सुचना, समाचार र मनोरन्जन

जलवायु परिवर्तनले हुने हानी, नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाऔँ

काठमाडौँ,

विज्ञहरूले विकासशील तथा साना गरिब राष्ट्रमा जलवायु परिवर्तनले हुने हानी नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउनुपर्ने बताएका छन् । सगरमाथा संवादमा हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर र हानी नोक्सानीबारे भएको छलफलमा विज्ञहरूले क्षतिपूर्ति पाउने प्रक्रिया सरल गर्नुपर्ने बताएका हुन् ।

नेपाल जस्ता गरिब र साना देशले जलवायु परिवर्तनसँग जुध्न आवश्यक कार्यक्रम सञ्चालन गर्न जलवायु कोषहरूमा सहज पहुँच पुर्‍याउन आवश्यक रहेको बताए । छलफलमा प्रमुख वक्ताको रूपमा बोल्दै हानी, नोक्सानी सम्बोधन कोषका कार्यकारी निर्देशक इब्राइम शेख डियोङले जलवायु परिवर्तन बिरुद्ध लड्न विश्वव्यापी सहकार्य र समन्वय तथा समर्थनको खाँचो रहेको बताए । जलवायु परिवर्तन विरुद्धको प्रतिकार्य र दिगोपनाको लागि प्रभावित देश र नागरिक समाज अगाडि आउनुपर्ने बताए ।

घटनाको विश्वव्यापीकरण र समर्थनले हानी नोक्सानी कोषसम्म पुग्न सहज हुने बताए । कार्यकारी निर्देशक डियोङले प्रभावित देशका सरकारहरूलाई सशक्तीकरण गर्न आवश्यक रहेको बताए । सरकार स्पष्ट र बलियो भए मात्रै आफ्ना कुरा विश्वसामु राख्न र प्राप्त हुने कोष परिचालन गर्न सक्षम हुने बताए ।

छलफल कार्यक्रममा संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमका जोखिम व्यवस्थापन विज्ञ राजेश शर्माले जलवायु परिवर्तनको कारणले हुने गैरआर्थिक हानी नोक्सानीको लेखाजोखा धेरै नै महत्वपूर्ण भएको बताए । आर्थिक हानि, नोक्सानी जस्तो स्पष्ट नदेखिने र नापतौल गर्न नसकिने भएकाले यसको हानी नोक्सानीको लागि छुट्टै विधि र प्रक्रिया आवश्यक रहेको बताए । संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमले सरकारहरूलाई गैह्रआर्थिक हानी, नोक्सानीको लेखाजोखा गर्न सघाउने लागेको बताए । गैह्र आर्थिक हानी, नोक्सानीको लेखाजोखा गर्ने विधि आगामी २०२६ सम्ममा तयार हुने बताए ।

छलफलमा विज्ञहरूले नेपाल जस्ता पहाडी देशले मौसमजन्य विपद्को विकराल असर भोग्नुपरेको बारेमा चिन्ता व्यक्त गरे । इसिमोडका सल्लाहकार अरुणभक्त श्रेष्ठले बाढी, पहिरो, हिमताल विस्फोट, तातो लहर जस्ता घटनाको प्रतिकार्यमा सरकारहरू कमजोर हुन थालेको बताए ।

भारतका विज्ञान तथा प्रविधि विभागका डा.अनिलकुमार गुप्ता र ब्राजिलको हेनरिक बोल फाउन्डेसनका सामाजिक वातावरणीय न्याय कार्यक्रम संयोजक मौरिन सान्तोसले सीमित क्षमतामा रहेका समुदायले हानी नोक्सानी कोषमा छिटो पहुँच पुर्याउन सबैले सहयोग गर्नुपर्ने बताए ।

Leave A Reply

Your email address will not be published.