काठमाडौं :
अघिल्ला शुक्रबारबाट नेपालको हलमा प्रदर्शन भइरहेको फिल्म ‘ऊनको स्वीटर’अब युरोपमा पनि प्रदर्शन हुनेभएको छ। फिल्मको आर्थिक र दर्शकीय सफलता दुवै हिसाबले उल्लेखनीय स्थान बनाएपछि युरोपका देशमा समेत फिल्मको प्रदर्शन हुन लागेको हो।
अहिले ‘ऊनको स्वीटर’ संयुक्त राज्य अमेरिकाका ३० भन्दा बढी सहरहरूमा एकै पटक प्रदर्शन भइरहेको छ। न्युयोर्कदेखि क्यालिफोर्निया, टेक्ससदेखि वासिङ्टन, ओहायोदेखि फ्लोरिडा सम्मका विभिन्न सहरहरूमा नेपाली दर्शकहरू आफ्नो नजिकको सिनेमा हलमै यो चलचित्र हेर्न पाएका छन्।
अमेरिकामा प्रदर्शनपछि फिल्मले अस्ट्रेलियामा पनि राम्रै दर्शक पाइरहेको बताइएकोछ। रिलिज भएको पहिलो दिनदेखि नै हाउसफुल शोहरू दिइरहेको छ। सिड्नी, मेलबर्न, ब्रिसबेन लगायत सहरहरूमा नेपाली दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको वितरकहरूले जनाएका छन्।
क्षेत्रगत रूपमा अमेरिकामा पूर्वोत्तर क्षेत्रका म्यासाचुसेट्स, न्यु ह्याम्पशायर, कनेटीकट र न्युयोर्कमा मीड(अटलान्टिक क्षेत्रमा पेनसिल्भेनिया, मेरिल्यान्ड, भर्जिनिया, वासिङ्टन र डिसी.मा मिडवेस्ट क्षेत्रमा ओहायो, इलिनोइस, आइओवा, विस्कन्सिन, मिसौरी, नर्थ डकोटा र केन्टकीमा साउथईस्ट क्षेत्रका जर्जिया, फ्लोरिडा र टेनेसीमा साउथ सेन्ट्रल क्षेत्रको टेक्ससमा माउन्टेन वेस्ट क्षेत्रको कोलोराडोमा पश्चिमी तटमा वासिङ्टन र क्यालिफोर्नियामा ुऊनको स्वीटरु रिलिज भइरहेको छ।
यस्तै, जापानका प्रमुख सहरहरू जस्तै योकोहामा, ओकिनावा, क्युसु, फुकुओका, कुमामोटो, कुरुमे, कोबे, गिफु, नागोया, ओसाका, टोकियो, चिबा र नरितामा ‘ऊनको स्वीटर’ प्रदर्शन भइरहेको छ। नेपाली समुदाय रहेको अधिकांश जापानी सहरमा चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
त्यस्तै, दक्षिण कोरियामा पनि मे ११ देखि जुन १ सम्म सियोल, किम्हे, सुवोन, मोक्तो, किम्पो, फुयो, जिन्छान, ओन्याङ ओन्छान र फाजु जस्ता सहरहरूमा शोहरू तय गरिएका छन्। कोरियामा रहेको नेपाली विद्यार्थी र कामदार समुदायबाट उत्साहजनक साथ मिलिरहेको छ। युरोपका डेनमार्क, पोर्चुगल, बेल्जियम, साइप्रस, माल्टा जस्ता देशहरूमा पनि मे १८ देखि चलचित्रको प्रदर्शन तय भइसकेको छ। यसबाहेक क्यानडामा पनि फिल्मको शोहरू सुरु हुने तयारी भइरहेको छ । मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, ओमन लगायतमा पनि ुऊनको स्वीटरु सफलताका साथ प्रदर्शन भइरहेको छ भने हङकङ, सिङ्गापुर र युनाइटेड किङडममा पनि प्रदर्शनको तयारी छ।
फिलमका लेखक तथा निर्देशक नवीन चौहानका अनुसार नेपालमा रिलिज भएको रिलिजको पहिलो सातामा ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। फिल्ममा कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ।