पोखरा,
वर्डप्रेस र खुला वेब प्रविधिको प्रवद्र्धनमा केन्द्रित प्राविधिक सम्मेलन वर्डक्याम्प पोखरा २०२५ यही जेठ ३० र ३१ गते (JUN 13-14) पोखरामा आयोजना हुँदैछ। दुई दिने यो सम्मेलनमा नेपालभित्रका साथै भारत र बंगलादेशबाट पनि सूचना प्रविधि (आईटी) विज्ञहरू सहभागी हुने पक्का भइसकेको छ । पोखरा इभेन्ट सेन्टर, बुलौदीमा हुने वर्ड क्याम्पलाई प्रविधिको महाकुम्भ मेलाको रुपमा समेत हेरिएको छ।
सामुदायिक योगदान, ज्ञान आदानप्रदान र खुला प्रविधिको भावनालाई आत्मसात् गर्दै आयोजना हुँदै आएको यो कार्यक्रम विश्वभरका वर्डप्रेस प्रेमीहरूको साझा मञ्च हो ।

कार्यक्रमको पहिलो दिन ’कन्ट्रीब्युटर डे’ मा सहभागीहरूले वर्डप्रेसको विकासमा प्रत्यक्ष योगदान दिने अवसर पाउनेछन्। अनुवाद, डिजाइन, डकुमेन्टेसन, कोडिङ, र प्रयोगकर्ता सहायता जस्ता विविध विधामा सहभागी भएर वर्डप्रेसलाई अझ मजबुत बनाउने कार्य गरिनेछ। अनुभव नभएकाहरूका लागि पनि सिक्ने र सँगसँगै योगदान गर्ने उत्कृष्ट अवसर हुनेछ ।
सम्मेलनको मुख्य कार्यक्रम जेठ ३१ गते हुनेछ, जहाँ विभिन्न सत्रहरू, प्यानल छलफल र छोटो प्रस्तुतिहरू रहनेछन्। भारत र बंगलादेशका अनुभवी आईटी विज्ञहरूले विभिन्न विषयमा आफ्ना प्रस्तुति दिनेछन् — वेब विकास, सामग्री रणनीति, पहुँच (accessibility), उद्यमशीलता र खुला वेबको भविष्य जस्ता विषयहरू समेटिनेछन् ।
वर्डक्याम्प पोखराको विशेषता भनेको यसको सामुदायिक स्वरूप हो। नेपाल र विदेशबाट आउने सहभागीहरू — स्पिकरहरू समेत — आफ्नो यात्रा खर्च आफैँ व्यहोरेर सम्मेलनमा सहभागी हुँदैछन्। स्थानीय स्वयंसेवकहरूद्वारा पूर्ण रूपमा व्यवस्थापन गरिएको यो कार्यक्रम वर्डप्रेस समुदायको आत्मनिर्भरता र सहकार्यको प्रतीक बनेको छ ।

सम्मेलनमा सहभागी हुन चाहनेहरूले रु १५०० मा टिकट किन्न सक्नेछन्। यो शुल्कमा कार्यक्रमको प्रवेश, टिसर्ट, लन्च र कफी समावेश छ। साथै, विभिन्न भुक्तानी साझेदारहरूमार्फत अतिरिक्त छुटहरू पनि उपलब्ध छन्। कार्यक्रममा करिब ८०० जनाको सहभागिता रहने आयोजकले अनुमान गरेका छन् ।
पोखरामा आयोजना हुन लागेको यो सम्मेलन खुला वेब ((open web), सामुदायिक योगदान र डिजिटल सिर्जनशीलताको उत्सव बन्नेछ ।
